एउटै विद्यालयबाट ५ विद्यार्थीको ४ जीपीए

- लालप्रसाद शर्मा, पोखरा

    असार १०, २०७५

    शनिबार प्रकाशित एसईई परीक्षाको नतिजामा पोखरामा एकै विद्यालयका ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । पोखराको मासवारस्थित मदर ल्याण्ड माविका प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रन्जन यादवले ४ जीपीए ल्याएका हुन् । देशैभरबाट २५ विद्यार्थीले ४ जीपीए ल्याएकोमा एउटै विद्यालयको २० प्रतिशत रहेको छ ।

    यसैगरी पोखराकै फिस्टेल एकेडेमीका सुशान्त रानाभाटले पनि ४ जीपीए ल्याउन सफल भएका छन् । मदरल्यान्डका प्रधान्याध्याक नारायण बरालले परीक्षाको नतिजाले विद्यालय परिवारमा खुशीको सीमा नरहेको बताउनुभयो ।

    ‘पूर्वाधार, शिक्षक, विद्यार्थीको निरन्तरको मेहनत, सिक्ने र सिकाउने वातारण र विद्यार्थीलाई आवस्यक स्तन्त्रता रहने गरी पढाईमा स्वामित्व लिने हैसियत लगायत कारणले यो नतिजा आएको हो,’ उहाँले भन्नुभयो, ‘विगतका परीक्षामा पनि जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरको सफलताको निरन्तरता ठानेका छौ ।’

    उक्त विद्यालयबाट १ सय ५० विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ ए प्लस, ३५ ए र ८ जना बि प्लसमा उत्तीर्ण भएका छन् । फिस्टेल एकेडेमीका प्रधान्याध्याक चिनु रानाभाटले विद्यालयले बनाएको पढाईको रुटीनको फ्रेमवर्क भित्र रहेर विद्यार्थीले मेहनत गरेका कारण सफलता मिलेको बताउनुभयो । सबै विद्यार्थीले आफूहरुको मिहेनतका कारण सफलता हासिल मिलेको प्रतिक्रिया दिएका छन् । 

    प्रकाशित:असार १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्