पोखरामा मध्यमस्तरकै जहाज चल्ने पहिल्यै थाहा थियो: पर्यटनमन्त्री अधिकारी

- दीपक परियार, लेखनाथ

    असार १०, २०७५

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले कुनै पनि विज्ञले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसक्ने अभिव्यक्ति नदिएको बताउनु भएको छ । नेपालमा कति विमानस्थल चाहिन्छन्, कस्ता कस्ता प्रकृतिका जहाज उड्न सक्छन् भन्ने विषयमा छलफलका क्रममा विज्ञको धारणा आएको उहाँले बताउनुभयो ।  

    ‘विज्ञले विमानस्थल बन्न सक्दैन भनेर कुनै प्रतिवेदन बुझाएका छैनन्,’ पोखरा–लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभामा उहाँले भन्नुभयो, ‘छलफलका क्रममा यहाँ ठूला जहाज चल्न सक्दैनन् भनिएको हो ।’ विज्ञ समूहले पोखरामा मध्यमस्तरका १ सय ८० सिट क्षमताका जहाज मात्रै राम्रोसँग चल्न सक्ने सुझाएको उहाँले बताउनुभयो ।

    भविष्यमा नयाँ–नयाँ प्रविधि आए त्यहाँ भन्दा ठूला जहाज पनि चल्न सक्ने राय दिएको उहाँले उल्लेख गर्नुभयो । ‘हामीलाई बनाउने बेलामै थाहा थियो । पोखरामा चल्ने भनेको मध्यमस्तरको जहाज नै हो,’ उहाँले भन्नुभयो, ‘मध्यमस्तरका जहाजलाई नै आधार बनाएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलन निर्माण सुरु गरेका हौं ।’ 

    मध्यमस्टरका जहाज चल्ने भएपनि सबैभन्दा धेरै चल्ने र पर्यटक भित्रयाउने विमानस्थल पोखराको हुने उहाँको दाबी छ । उहाँले हालसम्म भौतिक प्रगतिमा १३ प्रतिशत काम सम्पन्न भएकोले कुन विज्ञ समूहले के भन्यो भन्ने तर्फ नलाग्न आग्रह गर्नुभयो । ‘यही विषयलाई धेरै ठूलो बनाएर आफैंले आफैंलाई अल्झाउने काम गर्नुहुँदैन,’ उहाँले भन्नुभयो,  ‘यो समयमा यहीं ठाउँको प्रतिनिधि सम्बन्धित मन्त्रालयको मन्त्री छ ।

    यो विषयमा हेर्छ । अनि कसैले केही भन्दिने बित्तिकै कागले कान लग्यो भनेर कागको पछि दौडने कुरा उपयुक्त हुँदैन ।’ मन्त्री अधिकारीले तोकिएको समयभन्दा अगावै विमानस्थल सकिनेमा विश्वस्त हुन पोखरावासीलाई आग्रह गर्नुभयो ।

    प्रकाशित:असार १०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्