धान रोपाइँ शुरु, कृषि श्रमिकद्वारा ज्याला बढाउन माग

- भरत जर्घामगर, सिरहा
    सरकारी दररेट अनुसार कृषि श्रमिकको ज्याला दैनिक ५ सय रुपैयाँ निर्धारण गरेपनि आफूहरुले दैनिक २ सय रुपैयाँ बराबरको ८ किलो धान मात्र पाएको भन्दै ज्याला बढाउन सिरहा धन्छबारका कृषि मजदुरले माग गरेका छन् । उनीहरुले सरकारी दररेट अनुरुप नभएपनि दैनिक ३ सय ५० रुपैयाँ बराबरको १२ किलो धान माग गरेका छन् ।

    असार २१, २०७५

    समयमैं वर्षा भएपछि सिरहामा धान रोपाई सुरु भएको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषकहरुले समयमै वर्षा भएपछि रोपाइँ सुरु गरेका हुन् । तराईमा धानबालीलाई अन्न भण्डारको रुपमा लिइन्छ । सिरहामा कृषकहरुले मुख्यबालीका रुपमा धान बाली लगाउँछन् । कृषि विकास सिरहाको तथ्यांक अनुसार अहिलेसम्म १० प्रतिशत रोपाइँ भएको छ ।

    कुल खेतीयोग्य ७३ हजार ९ सय १३ हेक्टर जग्गामध्ये ३९ हजार ३ सय ४१ हेक्टर जग्गा सिञ्चित क्षेत्र छन् । तर, समयमै वर्षा भएपछि जिल्लाभर रोपाइँ सुरु भएको कार्यालयले जनाएको छ । सिरहामा धान खेतीका लागि ६४ हजार ४ सय ७० हेक्टर खेतीयोग्य जग्गामा वर्षेनी ७२ हजार ३ सय मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । युवाशक्ति वैदेशिक रोजगारीका लागि खाडी मुलुक लगायत अन्यत्र गएपछि मजदुर अभाव भएको छ । उत्ता कृषि मजदुरहरुले ज्याला बढाउन माग गर्दै रोपाइँमा अवरोध सुरु गरेका छन् । 

    सरकारी दररेट अनुसार श्रमिकको दैनिक ज्याला न्यूनतम ५ सय रुपैयाँ निर्धारण गरे पनि आफूहरुले खेतमा खनजोत र रोपाइँ गर्दा दररेट अनुसार ज्याला पाउन नसकेको भन्दै सिरहा धन्छबारका कृषि मजदुरले ज्याला बृद्धि नगरेसम्म रोपाइँमा नजाने अडान राखेपछि रोपाइँ  प्रभावित भएको छ । उनीहरुले खेतमा श्रम गरेवापत धान दैनिक ८ किलो धान मात्र पाउने गरेको भन्दै रोपाइँमा नजाने अडान राखेपछि रोपाइँ प्रभावित भएको हो । ८ किलो धानको बजार मूल्य २ सय रुपैयाँ हो । 

    ‘सरकारले तोकेको दररेट मागेका छैनौं, कम्तीमा १२ किलो धान दिनुपर्‍यो भनेका हौं’ सिरहा धन्छवारकी पचिया देवी मुसहरले भनिन् ‘तर गिरहत १० किलो धानमात्र दिन तयार छ, त्यति ज्यालामा धान रोपाइँ जाँदैनौं ।’ १२ किलो धानको बजार मूल्य ३ सय ५० रुपैयाँ हुन्छ । 

    कृषकहरुले दैनिक ३ सय ५० रुपैयाँ ज्याला दिन नमानेकाले समस्या भएको ५८ वर्षीय श्यामलाल मुसहरले सुनाए । ‘बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म खटिनुपर्छ’ उनले भने ‘८ किलो धानले गुजारा समस्या भएपछि १२ किलो माग गरेका हौं, सरकारी दररेट समेत मागेका छैनौं ।’

    ‘हाम्रा पनि बालबच्चा छन्, लालन पालन गर्नुपर्छ’ उनले भने ‘गिरहतसँग ज्याला बृद्धि माग गर्दा गर्न मान्दैनन्, हामी पनि बरु भोकैं बस्छौ, रोपाइँमा जाँदैनौं ।’ ज्याला बृद्धि नगरेसम्म रोपाइँमा नजाने कृषि मजदुरको अडान छ । उता कृषकहरु उत्पादन भन्दा लगानी बढ्दा ज्याला बृद्धिमा समस्या भएको बताउँछन् । 

    जिल्ला दररेट निर्धारण समिति सिरहाले श्रमिकको ज्याला वापत प्रतिदिन ५ सय रुपैयाँ दररेट निर्धारण गरे निर्माण मजदुर बाहेक कृषि मजदुरले पाएका छैनन् । दररेट पुस्तिकामा कृषि श्रमिकको छुट्टै ज्यालाको व्यवस्था नभएको भन्दै कृषि सम्बन्धी रोजगारदाताले समितिले व्यवस्था गरे अनुसारको ज्याला कृषि श्रमिकलाई दिन पञ्छिने गरेका छन् ।

    कृषि श्रमिकलाई उचित ज्याला नदिने गरेको कारण रोपाईको समयमा पनि कृषकले पुरुष कामदार नपाएर महिला कामदारमै चित्त बुझाउनुपर्ने अवस्था आएको हरवा चरवा सशक्तिकरण अभियानमा सक्रिय सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले बताउनुभयो । उहाँका अनुसार कृषि मजदुरको न्यूनतम ज्याला सरकारी दररेट निर्धारण गरेअनुरुप पाउनुपर्ने र यसबारेमा जग्गावाला र कृषि मजदुरलाई नै राखेर दुई पक्षीय छलफल गर्नु आवश्यक छ ।

    सिरहाका कृषकहरुले स्थानीय जातको बासमती, जसवाका साथै सोना मन्सुली, मिथिला, हर्दिनाथ, राधा–११ तथा सावित्री जातका धान खेती गर्दै आएका छन् । ‘समयमा धानको बेर्ना तयार नहुनु र कृषि मजदुर अभावका कारण रोपाईमा समस्या देखापरेको’ वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भन्नुभयो, ‘असार १५ सम्म कम्तिमा पनि ३५ प्रतिशत रोपाइँमा भइसक्नुपथ्र्यो, तर व्याड तयारी नभएका कारण र कृषि मजदुर अभावमा रोपाई हुन सकेको छैन ।’

    प्रकाशित:असार २१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्