सरकारसँग वार्ताका लागि तयार छौं – डा. केसी

काठमाडौं

    असार २७, २०७५

    जुम्लामा १२ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीले ५ बुँदे माग बारे सरकारसँग वार्ताका लागि तयार रहेको बताउनु भएको छ । केसीले आज विज्ञप्ति जारी गरी सरकार तयार भए तत्काल वार्ता टोली काठमाडौं पठाउन सकिने बताउनुभयो । विज्ञप्तिामा भनिएको छ, हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं ।

    आफू वार्तामा आउन नचाहेको भन्ने खबर प्रति डा. केसीले विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाउनु भएको छ । १२ औ दिनको अनसन जारी रहँदा डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ । डा. केसीलाई थप उपचारको आवश्यकता भएपनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयु कक्ष नभएकाले हाल स्पेशल केयर युनिटमा राखी उपचार भइरहेको चिकित्सकले बताएका छन् । 

    यसैबीच, डा. केसीको मागप्रति ऐक्यवद्धता जनाएका देशभरका चिकित्सकले आज एक घण्टा धर्ना दिएका छन् । सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएपनि डा. केसीको माग सम्बोधनका लागि सरकारबाट कुनै पहल नभएको भन्दै नेपाल चिकित्सक संघले हिजो संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

    अर्को निर्णय नहुँदासम्म सम्पूर्ण स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीले कालोपट्टी बाँधेर अस्पतालमा एक घण्टा धर्ना दिईएको संघले जनाएको छ । सो अवधिमा पनि माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरे देशभरका सम्पूर्ण स्वास्थ्य संस्था बन्द गर्न बाध्य हुने संघका महासचिव लोचन कार्कीले बताउनुभयो । 

    प्रकाशित:असार २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्