लगातार वर्षा : पहिरोले तीन जनाको मृत्यु, पोखरा-बाग्लुङ सडक अवरुद्ध

काठमाडौं
  • भक्तपुर जलमग्न

असार २८, २०७५

मुलुकका अधिकांश स्थानमा गएराती देखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि पहिरोले घर पुर्दा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ भने पोखरा–बाग्लुङ सडक अवरुद्ध छ । गएराती देखि अवरुद्ध अरनिको र बीपी राजमार्गमा भने सवारी सञ्चालनमा आएका छन् । वर्षाका कारण साना नदी तथा खोलामा आएको बाढीले भक्तपुर सहित केही जिल्ला जलमग्न भएका छन् ।

ठूला नदीमा पानीको बहाव बढेसँगै नदी आसपासका बस्ती समेत जोखिममा परेका छन् । लगातारको वर्षाका कारण अधिकांश नदीहरुमा पानीको वहाब बढ्दो क्रममा रहेकाले आसपासका क्षेत्रमा सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

 

भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा बागेहिटीमा अविरल वर्षाका कारण पहिरो जाादा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठका अनुसार घरपछाडी झरेको पहिरोले ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

पर्वत खण्डमा पहिरो खसेपछि गएरातिदेखि पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले बताउनुभयो । राति १० बजे पहिरो खस्न सुरु भएको हो । बाटो खुलाउन रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म सम्भव नभएको प्रहरीले जनाएको छ । दिउँसोसम्ममा सडक पुन: सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

 

निरन्तर वर्षाका कारण बाढी र पहिरोले अवरुद्ध अरनिको र बीपी राजमार्गमा गाडी चलेका छन् । स्थानीय पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा बजार जलमग्न भएको थियो । वर्षाको क्रम केही कम भएपछि पानीको सतह घटेकाले अरनिको राजमार्ग अन्तरगत बनेपा खण्ड सञ्चालनमा आएको छ । बाढीले बनेपाको बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रोशीका बिभिन्न पहिरो खसेपछि वीपी राजमार्ग झण्डै चार घण्टा अवरुद्ध भएको थियो । रोशीको माम्ती, कालढुंगा, मंगलटार र चार सय वेशीमा गएको पहिरो हटाएपछि बीपी राजमार्ग सञ्चालनमा आएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) लामाले जानकारी दिनुभयो । 

भक्तपुर जलमग्न 

यसैबीच, मनोहरा नदी र हनुमन्ते खोलामा पानीको बहाव उच्च हुँदा भक्तपुरका अधिकांश स्थान डुबानमा परेका छन् । नदी र खोला आसपासका क्षेत्रमा बेलुकी सम्मै डुबानको जोखीम रहेको जल तथा मौसम विभागले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमिको कमेरोटार, राधेराधे, सृजनानगर, सल्लाघारी, राममन्दिर,जगाती, लिवाली, बासकचा, नयाँ थिमि लगायत स्थानमा डुबानमा परेको हाम्रा सहकमीले जनाएका छन् । हिजोसाँझ देखि नै लगाता परेको वर्षाका कारण नदीमा पानीको वहाव उच्च भएको हो । 

गएरातिदेखि लगातार परेको वर्षाले सुदुरपश्चिका केही जिल्लामा क्षति पुर्‍याएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि महाकाली नदीसम्मका स्थानका अधिकांश सडक र पैदलमार्गमा पहिरोले क्षति पुर्‍याएको छ । ती स्थानमा सवारी साधन सञ्चालनमा बाधा पुगेको हाम्रा सहकर्मीले जनाएका छन् । वर्षा कम नभएसम्म सो क्षेत्रमा सवारी साधन संचालनमा रोक लगाइएको कञ्चनपुर प्रशासनले जनाएको छ ।

यस्तै गएरातिदेखिको वर्षाले दार्चुलाको नौगार्ड गाउँपालिकाका ९ घरहरु डुबानमा परेका छन् । पीडितलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 

प्रकाशित:असार २८, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्