'भद्र' र 'रुपसी'लाई चीन पठाईंदै

काठमाडौं

    असार २८, २०७५

    नेपाल सरकारले एक सिंगे एक जोडी गैंडा उपहार स्वरुप चीन सरकारलाई आज हस्तान्तरण गर्दैछ । प्रधानमन्त्री केपी ओलीले नेपालका लागी चिनियाँ राजदुत यु हङ्गलाई गैंडा हस्तान्तरण गर्नुहुने राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

    चितवनबाट भद्र नाम दिईएको भाले र रुपसी नाम दिईएको पोथी गैंडा प्रधानमन्त्री ओलीले चीन सरकारलाई हस्तान्तरण गर्नुहुनेछ ।  ती गैंडालाई आजै चिनियाँ कार्गाे जहाज मार्फत ग्वान्जाओ लगिनेछ । उपहारको गैंडा लिन कार्गाे जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुगेको छ । 

    वरिष्ठ पशु चिकित्सक डा. कमल प्रसाद गैरे सहित ४ जनाको प्राविधिक टोली चीन जानेछ । नेपाली सिकर्मीले बनाएका दुइवटा खोरमा राखिएका गैंडा बोकेर चिनियाँ विमान ग्वान्जाओ उड्नेछन् । विमानमा पशु चिकित्सकसहित प्राविधिक पनि आउनेछन् । वन तथा वातावरण मन्त्रालय र चीनको राज्य वन प्रशासनबीच भएको सम्झौतामा उपहारस्वरूप दिइएका गैंडाबाट कृत्रिम प्रजनन विधि अपनाएर संख्या बढाउन नपाउने उल्लेख छ ।

    चीनलाई उपहार दिन लागिएको गैंडा चितवन, सौराहाबाट ल्याएर ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा राखिएको छ । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा २०७३ असार २६ मा चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय भएको थियो । 

     

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्