व्यवसाय पारदर्शी र स्वच्छ बनाउन महासंघको आह्वान

काठमाडौं

    असार २८, २०७५

    उद्योग वाणिज्य महासंघले सम्पूर्ण उद्योगी तथा व्यापारीहरुलाई आफ्नो व्यवसाय पारदर्शी र स्वच्छ बनाउन आह्वान गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै उद्योगी तथा व्यापारीहरुलाई आफ्नो व्यवसाय पारदर्शी र स्वच्छ बनाउन आह्वान गरेको हो ।

    महासंघले आफ्ना सबै व्यवसायिक सदस्य संघरसंस्था मार्फत मुलुकभर क्रियाशील व्यापारीलाई स्वच्छ र यथार्थ मूल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आह्वान गरेको हो ।

    डर, त्रास र भयमुक्त भई स्वच्छ व्यापारका लागि बिना दर्ता, वा बील बिजक जारी नगरी, मूल्य अनुसारको परिमाण नदिनेगरी हुने वस्तु तथा सेवाको कारोवार गर्ने/गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिष्कार गर्ने महासंघले जनाएको छ । साथै तिनको परिचय समेत सार्वजनिक हुने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    आम उपभोक्तालाई आफूले खरिद गरेको वस्तु र सेवाको यथार्थ परिमाण र भुक्तानी मूल्यको बील बिजक लिएर मात्र कारोवार गर्न महासंघले आग्रह गरेको छ । होलसेल तथा खुद्रा व्यापारीहरुलाई पनि बील बिजक दिएर मात्रै कारोबार गर्न महासंघले भनेको छ । सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्नेमा समेत महासंघले जोड दिएको छ ।

    सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भए/नभएको एकीन गरी खरिद बिक्री गर्न, उपभोग्य मिति गुज्रेको वस्तु बिक्री वितरण नगर्न, कानूनले तोकेको अत्यावश्यक वस्तुहरुको सीमा भित्र रहेर मूल्य र नाफा लिन, सबैले देख्ने गरी अत्यावश्यक वस्तुहरूको मूल्य सूची राख्न महासंघले सबैलाई आग्रह गरेको छ । 

    असार १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा गठित समितिले समग्र अनुगमनका विषयमा विस्तृत सुझाव दिई सोको कार्यान्वयनका लागि पहल गरिरहेको महासंघले जनाएको छ ।

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्