वर्षाका कारण मुलुकका विभिन्न जिल्ला डुबानमा, सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं

    असार २८, २०७५

    अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्ला डुबानमा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य तथा विशेष समयमा बोल्दै सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढी पहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

    गएरातिदेखि परेको वर्षाका कारण आएको बाढी पहिरोका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित हुनुका साथै बस्ती डुबानमा परेको, राजमार्गमा पहिरोका कारण जोखिम बढेको र यातायात अवरुद्ध रहेको बारेमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । 

    भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले बाढी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । भक्तपुरमा भएको बाढीले डुबाएको क्षेत्रलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ओली सरकारले अघि सारेको पानी जहाजको योजनासँग तुलना गरेर मानवीय संवेदना माथि खेलवाड गरेको आरोप लगाउनुभयो । 

    उहाँले प्रहरी र सरकारले साइबर अपराध अनुसार यसरी पीडालाई ’जोक्स’ बनाएर उडाउनेहरुलाई कारबाही गर्न माग गर्नुभयो ।  सांसद बस्नेतले बाढी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

    यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले पूर्व सावधानी नअपनाउँदा बढीको समस्या भोग्न परेको बताउनुभयो । सांसद सुवालले देशका अन्य ठाउँमा पनि भारतकै कारण डुबान भइरहेको छ आरोप लगाउनुभयो । सरकारले पूर्व सावधानी अपनाएर डुबान र पहिरोको सुरक्षा दिनुपर्ने भन्दै उहाँले नदी अतिक्रमणका कारण भक्तपुर डुबानमा परेको बताउनुभयो । 

    सांसद कल्याणी कुमारी खड्काले रौतहटमा गत वर्षका बाडी पीडितले हाल सम्म पनि राहत नपाएको भन्दै केही दिन देखिको वर्षका कारण आएको बाढीका कारण उनीहरु थप मारमा परेको बताउनुभयो । नदी कटानका कारण पीडित जनताले सास्ती खेप्नु परेको भन्दै उहाँले तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्णण गराउनुभयो ।

    सांसद अमनलाल मोदीले बाढी पहिरो अघि पूर्व तयारी नहुँदा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको बताउनुभयो । काठमाडौ समेत बाढीका कारण डुबानमा परेको भन्दै यसको समाधानका व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । जनता प्रति राज्य उत्तरदायी हुनु पर्ने भन्दै उहाँले पीडित जनतालाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो । 

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद कृष्णभक्त पोखरेलले अर्बौं रुपैयाँ खर्च गरेर सडक निर्माण गर्ने अवैज्ञानिक तरिका अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पोखरेलले भौगर्भिक अध्ययन बिना अर्बौं रुपैयाँ खर्च गरेर सडक निर्माण गर्ने अवैज्ञानिक तरिका अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    नारायणगढ–मुग्लिन सडकखण्डको भौगर्भिक अध्ययन बिनानै काम गरिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । करीब ४ वर्ष लगाएर निर्माण सम्पन्न हुनै लाग्दा पनि सडकमा पहिरो खस्ने क्रम नरोकिएको भन्दै उहाँले भौगर्भिक अध्ययन बिना अर्बौं रुपैयाँ खर्च गरेर सडक निर्माण गर्ने अवैज्ञानिक तरिका अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    नारायणी नदीको पुल पुरानो भएकोले यसको छिट्टै विकल्प खोज्न समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । नारायणी नदीको पुल पुरानो भएको भन्दै आगामी दिनमा हुन सक्ने सम्भावित क्षतिबाट बच्न त्यसको विकल्पको रुपमा अर्को पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    संसदमा विशेष समय लिएर बोल्दै प्रदीप गिरीले वर्तमान सरकारले तागत नभई गरिमा देखाउने बेला भएको बताउनुभयो । केपी शर्मा ओली दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्री भएको भन्दै गिरीले संसदमा प्रधानमन्त्रीले गरिमा देखाउने बेला भएको बताउनुभयो । 

    क्यानडाको एक सम्मेलन जान लागेका उपकुलपति कुलप्रसाद कोइरालालाई ‘प्रधानमन्त्रीले बोलाउनुभएको भन्दै प्रहरीले विमानस्थलबाट बालुवाटार पुर्‍याएको प्रसंग उल्लेख गर्दै उहाँले सरकारले तागत नभई गरिमा देखाउने बेला भएको बताउनुभयो ।

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्