उपराष्ट्रपति कप फुटबल प्रतियोगितामा सुनसरी र कास्की विजयीे

- शिव पुरी , रौतहट

    असार २८, २०७५

    रौतहटको चन्द्रनिगाहपुरमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको आजको खेलमा सुनसरी र कास्की विजयी भएको छ । ईलामलाई ३–१ गोल अन्तरले हराँदै सुनसरी विजयी भएको हो । निर्धारित खेलमा दुबै टिमले गोल गर्न नसके पछि भएको खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा सुनसरीले जित हात पारेको हो । आजै भएको अर्को खेलमा कास्कीले पाँचथरलाई २–१ ले पराजित गरेको थियो । 

    चन्द्रनिगाहपुरको शेरबहादुर दर्लामी खेल मैदानमा सुनसरीले सुरु देखि नै खेल आफ्नो पक्षमा पारेको थियो । तर गोल गर्न सकेन । मध्याह्न अघि सुनसरीले ३ वटा फल प्रहार गर्ने मौका पाएको थियो । सबै प्रहार पोष्ट बाहिर गयो । सुनसरीकी सुस्मिता राईले डिबक्स बाहिरबाट प्रहार गरेको पहिलो फल बल ईलामकी गोल किपर सुजना एलमोले पोष्ट बाहिर फाली दिएकी थिईन ।

    राईले शानदार किक प्रहार गरेकी थिईन । त्यसको लगत्तै सुनसरीले अर्को किक प्रहार गर्ने अवसर पाएको थियो । टिमका हेमकुमारी सेवाले शानदार किक प्रहार गरेकी थिईन । तर गोल पोष्टमा लागेर फर्किएको थियो । सुरु देखि नै आक्रामक रुपमा मैदानमा प्रस्तुत भएको सुनसरी निकै पटक गोल गर्नबाट चुकेको थियो । उसका खेलाडीहरु पबित्रा राई, सुस्मिता राई, सोमिका राई र बिमला थापाले राम्रो खेल प्रदर्शन गरेकी थिईन । 

    निकै रोमाञ्च खेल भएको थियो । मध्याह्न अघि दुबै टिमबाट गोल हुन सकेन । मध्याह्न पछिको ५४ औ मिनेटमा पेनाल्टी किक पाएको सुनसरीले त्यसको सदुपयोग गर्न सकेनन । टिमकी पबित्रा राईले प्रहार गरेको पेनाल्टी आउट भए पछि टिम संकटमा पर्‍यो ।

    खेलको अन्तिम समयमा पाएको पेनाल्टी बल गोल पोष्टबाट बाहिर गए पछि सुनसरी निकै तनाबमा पर्‍यो । ईलामले पनि खेल अन्तिम सम्म गोलको प्रयास गरेको थियो । उसका खेलाडीहरु अनिता राई, सन्जिबि खनाल र प्रिया राईले राम्रो खेल प्रदर्शन गरेका थिए । निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसके पछि ट्राईबेकरमा सुनसरी बिजयी भएको हो । 

    बिहानको खेलमा कास्किले पाँचथरलाई २–१ ले पराजित गरेको थियो । मध्याह्न अघि पाँचथरकी देबीकला राईले टिमका लागि पहिलो गोल गरेकी थिईन । मध्याह्न पछि  कास्कीकी सुस्मिता गुरुङले गोल गरी टिमलाई बराबरीमा लगेकी थिईन । खेलको अन्तिम समयमा कास्कीकी निशा कोईरालाले शानदार गोल गरी टिमलाई बिजयी बनाएकी हुन् ।

    अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहट फुटबल संघले ब्यवस्थापन गरेको राष्ट्रिय खेलमा रौतहट, बारा, पाँचथर, कास्की, सुनसरी, ईलामा, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलाली गरी १३ वटा महिला फुटबल टिम सहभागी रहेको रौतहट फुटबल संघका महासचिव मधु धितालले जनाए । 

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्