८ जनालाई जनही ६ करोड जरिवाना, एक वर्ष कैद

- शंकर आचार्य , पर्सा

    असार २८, २०७५

    मदिराको अन्त: शुल्कको नक्कली स्टीकर उत्पादन तथा आयातको कारोबार प्रकरणमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जले ८ जनालाई कैद र जरिवाना सजायको फैसला सुनाएको छ । प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाको इजलाशले उनीहरुलाई १/१ वर्ष कैद र जनही ६ करोड ७८ लाख ७० हजार १ सय १६ रुपैयाँ जरिवाना असूल गर्ने फैसाल सुनाएको हो ।

    विराटनगर महानगरपालिका १ का ५० वर्षीय कुलप्रसाद राजभण्डारी, भारत पूर्वी चम्पारण रक्सौल २० का ४९ वर्षीय वीरेन्द्र कुमार महतो, विराटनगर ११ का ५४ वर्षीय प्रकाश घिमिरे र काठमाडौं बुढानीलकण्ठ १० का ५० वर्षीय राजकुमार भण्डारी छन् । सजाय सुनाउने बेलामा यी ४ जना कोइरालाका इजलाशमै थिए । यस अघिनै पक्राउ परी सकेका उनीहरु हाल पुर्पक्षका लागि वीरगञ्ज कारागारमा रहेका छन् ।

    सजाय पाएका अन्य ४ जना हरियाणा भारत घर भई हाल काठमाडौं १४ कुलेश्वर बस्दै आएका ५२ वर्षीय विनोद कुमार गुप्ता, उनकी पत्नी ४९ वर्षीय मधु कुमारी चौधरी, उनीहरुका छोरा राहुल गुप्ता र विनोदका भाई सतिस गुप्ता भने फरार रहेका छन् । यस मुद्दामा पटक पटक कार्यालयलबाट हाजिर हुन तथा प्रहरी मार्फत पक्राउ पूर्जी जारी हुँदा पनि उनीहरु कार्यालयमा हाजिर नभएपछि फरारको सूचीमा राखिएका हुन् । 

    यो गिरोहले २५ युपि शक्तिको मदिराको १८० एमएलको बोतलमा प्रयोग हुने अन्त:शुल्क टिकट ६७ हजार ६ सय ३० थान र २५ युपि शक्तिको मदिराको ७५० एमएलको बोतलमा प्रयोग हुने अन्त शुल्क टिकट १९ हजार १ सय १० थान गरी ८६ हजार ७ सय ४० थान नक्कली अन्त: शुल्क टिकट ओसार पसार गरेको ठहर कोइरालाको इजलाशले गरेको छ ।

    हरिओम ट्ेरडिङ्ग प्रालिले भारताट आयात गरेको ८६ हजार ४ सय ७० थान नक्कली स्टिकर भदौ १९ वीरगञ्ज भन्सारमा जाचपासको प्रकृयाका लागि ल्याएपछि उक्त स्टीकर सहित हिमालयन कार्गो ढुवानी कम्पनीका संचालक वीरेन्द्र कुमार गुप्ता स्टिकर सहित पक्राउ परेका थिए ।

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्