उदयपुर र काठमाडौं विजयी

- प्रताप विष्ट, हेटौंडा

    असार २८, २०७५

    हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ अन्तर्गत बिहीबार उदयपुर र काठमाडौं विजयी भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक क्यालेन्डर अनुसार जिल्ला फुटबल संघ मकवानपुरसंगको समन्वयमा हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको खेलमा उदयपुरले महोत्तरीलाई ६–१ र काठमाडौंले नवलपरासीलाई ४–१ गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा एक अर्कावीच भेट पक्का भएको हो ।

    उदयपुरको तर्फबाट सरस्वती चौधरीले र नमिता  राईले दुई/दुई गोल गर्दा सुस्मिता श्रेष्ठ र मोनिका राईले एक/एक गोल गरिन् । खेलमा महोत्तरीले खासै राम्रो मुभहरु सिर्जना गर्न सकेन भने उदयपुरले पाएको मौका सदुपयोग गर्दा फराकिलो अन्तरको नतिजा निकाल्न सफल भयो । खेलमा उदयपुरकी सरस्वती चौधरी वुमन अफ दी म्याच घोषित भइन् ।

    काठमाडौंको जितमा मनिषा थापामगरले दुई गोल गर्दा लक्ष्मी तामाङ र पेमा लामाले एक/एक गोल गरिन् । नवलपरासीको तर्फबाट तिलकुमारी मगरले एक गोल गरिन् । पहिलो हाफ् १–१ गोलको बराबरीमा टुंगिएपनि दोस्रो हाफमा काठमाडौं हावी भएको थियो ।

    खेलमा नवलपरासकी गोलरक्षकले राम्रो प्रदर्शन गरेकी थिइन् । खेलमा काठमाडौंकी मनिषा थापामगर वुमन अफ दी म्याच घोषित भइन् ।

    प्रतियोगिता अन्तर्गत् शुक्रबार रुपन्देही र सिन्धुपाल्चोक, सुर्खेत र चितवनबीच खेल हुनेछ । 

    प्रकाशित:असार २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्