असार २८, २०७५
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विद्यार्थी र बालबालिकालाई मदिराजन्य वस्तु बिक्री नगर्न आफ्ना व्यवसायीलाई निर्देशन दिएको छ । संघले १६ वर्ष भन्दा कम उमेरका विद्यार्थी र बालबालिकालाई धुम्रपान तथा मदिराजन्य वस्तु बिक्री वितरण नगर्न आफ्ना व्यवसायीलाई निर्देशन दिएको हो ।
रुपन्देहीलाई विकृति तथा विसंगती मुक्त बनाउने अभियान सहित आचार संहिता जारी गर्दै संघले कलेज तथा स्कुल पोशाकमा आएका जोडी विद्यार्थीलाई होटलको कोठा उपलब्ध नगराउने, मदिरा तथा चुरोट पनि बिक्री नगर्ने गरी आचार संहिता जारी गरेको हो ।
संघले आज जारी गरेको व्यवसायी आचार संहितामा होटलमा आउने प्रत्येक पाहुना तथा पर्यटकको परिचय खुल्ने गरी दर्ता गर्नुु पर्ने, दर्तामा फोन नम्बर र परिचय पत्र अनिवार्य रुपमा उल्लेख हुनु पर्ने लगायतका नियम बनाईएको अध्यक्ष समुन्द्र जिसीले बताउनुभयो ।
यदी कुनै व्यवसायीले समाजमा विकृति र विसंगती फैलाउने कार्य गरेको पाईएमा र प्रमाणित भएमा स्वत: संघको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिने र कानूनी कारवाहीको लागि सिफारिस गरिने संघका महासचिव माधवकुमार खनालले बताउनुभयो ।
होटल रेष्टुरेण्टमा काम गर्ने कामदार कर्मचारीलाई अनिवार्य रुपमा पोशाकको व्यवस्था गर्नु पर्ने र खाद्य सुरक्षालाई उच्च महत्व दिदै खाने कुराहरु शुद्घ र सफा राख्न पनि संघले व्यवसायीलाई निर्देशन गरेको छ ।
आचार संहिता प्रभावकारी कार्यान्वयण्न गर्न संघले रोमाकान्त पाण्डेको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको छ । समितिले आजै देखि अनुगमनका काम समेत शुरु गरेको पनि संघले जनाएको छ ।
प्रकाशित:असार २८, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्