ललितपुर महानगरको बजेट ४ अर्ब ६१ करोड

- रेडियो कान्तिपुर, ललितपुर

    असार ३२, २०७५

    ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ । महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो । नगरसभाले पारित गरेको निर्णय आज सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बेरुजु फस्र्यौटका लागि महानगरपालिकालाई नगरसभाले निर्देशन दिनुभयो ।

    नगरसभाद्वारा पारित महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पूँजीगत तर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरिएको उल्लेख छ । महानगरपालिकाले चालू आर्थिक वर्षको चैत्र भन्दा अगाडि असूल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ ।

    स्थानीय तहको कर सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत्र अगाडि असूल गरिएको घर बहाल कर तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिनुभयो । महानगरपालिकाले वडालाई विकासको केन्द्रबिन्दु बनाउने अभियान समेत सञ्चालन गर्ने योजना अघि सारेको छ ।

    महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणा पनि अघि सारेको छ । त्यसैगरी महानगरपालिका क्षेत्र भित्रका भूकम्प प्रभावितहरुको लाभग्राहीको नाम सूचीमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सापास दस्तुर मिनाहा गरिएको महानगरपालिकाले जनाएको छ ।

    मापदण्ड विपरीत निर्माण भएका भवनहरुलाई पनि करको दायरामा ल्याउने योजना महानगरले अघि सारेको छ । महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय समेत गरेको छ ।

    प्रकाशित:असार ३२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्