प्रतिपक्षीको अवरोध पछि संसद स्थगित

- कान्तिपुर संवाददाता, काठमाडौं

    असार ३२, २०७५

    प्रतिनिधिसभाको आज बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध पछि स्थगित भएको छ । राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेससहित अन्य दलका सांसदले उठेर बैठक अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगन गरिएको थियो ।

    बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए । बैठकमा कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरीत चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाउनुभयो ।

    कांग्रेस नेता मीनबहादुर विश्वकर्माले सरकारले चिकित्सा क्षेत्रमा थप बेथिति बढाउने तथा माफियालाई चलखेल गर्न सक्ने विधेयक ल्याएकाले आफूहरुले विरोध गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यसअघि सरकारले ल्याएको अध्यादेश अनुसार वर्तमान सरकारले विधेयक ल्याएको भए डा. गोविन्द केसी अनसन बस्ने थिएनन् । १७ दिनदेखि जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य गम्भीर बनेको छ ।’ 

    दोस्रोपटक संसद बैठक सुरु गरिएपनि विपक्षी दलका कांग्रेसका सांसदहरुले पुन: उठेर संसद अवरुद्ध पारेपछि सभामुख कृष्णबहादुर महराले आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । दास्रो बैठकमा कांग्रेसका सांसद पुष्पा भुषाललले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि पटक/पटक आवाज उठाउँदा पनि सरकार गम्भीर नदेखिएको बताउनुभयो ।

    सभामुख कृष्णबहादुर महराले बस्नका लागि पटक/पटकको आग्रह गरेपनि कांग्रेसका सांसद आसन ग्रहण नगरी उभिरहेपछि सभामुख महराले संसद् बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक साउन ३ गते दिउँसो १ बजे बस्नेछ । 

    प्रकाशित:असार ३२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्