अव्यवस्थित पार्किङ्गले दुर्घटना बढ्यो

- देवनारायण साह, मोरङ
    आर्थिक वर्ष ०७३/७४ मा भएको ४ सय ३४ सवारी दुर्घटनामा बालिका २, बालक ९, महिला १४ र पुरुष ७९ गरी १ सय ४ जनाले ज्यान गुमाएको थियो ।

    असार ३२, २०७५

    प्रदेश १ को अस्थायी राजधानी समेत रहेको मोरङमा अव्यवस्थित पार्किङ्गले दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा सवारी दुर्घटनामा परि १ सय ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ४ बालिका २ बालक, १० महिला र ९३ जना पुरुष रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्यांकले जनाएको छ । वर्षभरिमा भएको ५ सय २ सवारी दुर्घटनामा ८ सय २६ जना घाइते भएका हुन् । 

    आर्थिक वर्ष ०७३/७४ मा भएको ४ सय ३४ सवारी दुर्घटनामा बालिका २, बालक ९, महिला १४ र पुरुष ७९ गरी १ सय ४ जनाले ज्यान गुमाएको थियो भने आव ०७२/७३ मा भएको ४ सय ३५ सवारी दुर्घटनामा बालिका २, बालक ४, महिला १४ र पुरुष ७७ गरी ९९ जनाको ज्यान गएको थियो । 

    जिल्लामा वर्षेनी सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा वृद्धि हुँदै आएको ट्राफिक कार्यालयको तथ्यांकले देखाएको छ । प्रदेश राजधानी तथा औद्योगिक नगरी विराटनगरको मुल, सहायक र गल्ली लगायतका सडक जताततै अव्यवस्थित पार्किङ्गले अस्तव्यस्त भएकोले दुर्घटनामा वृद्धि भएको ट्राफिक कार्यालयले जनाएको छ । पार्किङ्ग क्षेत्र उल्लेख नभएको ठाउँमा पार्किङ्ग गरेको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार छ । तर पार्किङ्ग व्यवस्थित गर्ने जिम्मेबार निकाय ट्राफिक प्रहरी हालसम्म मौन देखिएको छ ।

    ६ लेन बन्दै गरेको सडक रानी–इटहरीको विराटनगर खण्डमा जताततै मालबाहक ट्रक, लरी, बस, जिप, कार, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारीसाधन पार्किङ्ग हुँदै आएको छ । पूर्वाञ्चल क्षेत्रीय आयल निगम कार्यालयमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने २ सय ५० बढी ट्याङकरको पार्किङ्ग स्थल ६ लेन सडक बनेको छ । सडकको दुबै छेउमा लहरै मिलाएर ट्याङकर पार्किङ्ग गरिदै आएको हो । ट्याङकर तथा मालबाहक सवारीसाधन ट्राफिक प्रहरीसँगको सेटिङमा सडकमा पार्किङ्ग गर्दै आएको जानकारहरु बताउँछन् । 

    भठ्ठीमोडदेखि रोडशेष चौकसम्म र विराटनगर भन्सार क्षेत्रमा पार्किङ्ग गर्ने भारतीय तथा नेपाली नम्बरको मालबाहक सवारीसाधनबाट अवैध रकम उठाउन २४ सै घण्टा ट्राफिक प्रहरी खटिएको हुन्छ । उनीहरु नेपाली नम्बरका सबारीभन्दा भारतीय नम्बरका सवारीसाधनलाई अनेक बहानामा जरिवाना भन्दै अवैध रुपमा रकम असूली गर्दै आएको सवारी चालकहरुले गुनासो पोखे । 

    भारतीय मालबाहक सवारी चालक अरबिन्द सिंहका अनुसार भारतबाट मालसामान बोकेर सुनसरी मोरङ औद्योगिक करिडोरको उद्योगको कच्चा पदार्थ लिएर आउँदा र उत्पादित वस्तु लिएर फर्किदा एउटा गाडीबाट ट्राफिक प्रहरीले सामान्य रुपमा २/४ हजार असूल्ने गरेको गुनासो पोखे । उनी जस्तै सुनसरी मोरङ करिडोरका १ हजार बढी मालबाहक सवारी चालकसँग यहाँका ट्राफिक प्रहरीको दैनिक २४ सै घण्टा यस्तै व्यवहार भइरहेको चालकहरुको गुनासो छ । 

    यस्तै, जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर बजारको मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि भन्दै वन–वे गर्दै आएको थियो । तर वन–वे बाटोमा जताततै व्यापारीहरुको सवारीसाधन पार्किङ्ग हुँदै आएको छ । ट्राफिक प्रहरीले बजारको मुल सडकस्थित बिप्लट चोकमा वन–वे गरेर सुनचाँदी पसल भएको पूर्व जाने बाटोबाट सवारी साधन सञ्चालन गर्दै आएको छ तर सुनचाँदी पसल बन्द भएको दिन वन–वे नहुने गरेको देखिन्छ ।

    स्थानीय सुनचाँदी पसलेहरुले आफूहरुको पसलमा सर्वसाधारणको ध्यान केन्द्रित गर्न तथा ग्राहक आकर्षित गर्न उक्त बाटोबाट ट्राफिकले वन–वे गर्दै आएको स्थानीयको गुनासो छ । सुनचाँदी व्यापारीहरुले ट्राफिक प्रहरीलाई मासिक अबैध रकम बुझाएर उक्त बाटोबाट सवारीसाधन सञ्चालन गराउँदै आएको स्थानीय नारायण खडकाले गुनासो पोखे ।

    विराटनगरस्थित निजी अस्पतालहरुको अगाडि बिरामी र कुरुवा बोक्ने सवारी साधनको व्यस्त सडकमा नै हुँदै आएको पार्किङ्गले दुर्घटना भइरहेको स्थानीय व्यापारीहरुले गुनासो पोखे । अस्पताल अगाडि सडकमा पार्किङ्ग गरे वापत अस्पताल, होटेल लगायतका व्यवसायीहरुबाट ट्राफिक प्रहरीले मासिक रुपमा मोटो रकम अवैध रुपमा असूल्दै आएको स्थानीय व्यापारीहरुले गुनासो पोखे । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक तुलाराम आचार्यले रकम असूलीको सेटिङ्ग गर्नुका साथै असूली गर्दै आएको एक ट्राफिक प्रहरीले बताए । आचार्यले रकम असूलीको सेटिङ्ग मिलाउने भएकोले नै धेरै वर्षदेखि निरन्तर जिल्ला ट्राफिक प्रहरी मोरङमा कार्यरत रहेको उनले बताए । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जिल्ला ट्राफिकमा आफू आएको एक महिनामा सुधारको पहल थालेको बताउनुभयो ।

    ‘साउन १ गतेदेखि विराटनगर महानगरस्थित ए र बि प्लट चोकदेखि जलजला मोडसम्म पार्किङ्ग निषेध गरी मोटरसाइकल दुईतर्फी सञ्चालन गर्ने व्यवस्था गरेको छु,’ उहाँले भन्नुभयो, ‘यसअघि सडकमा हुँदै आएको पार्किङ्ग महानगरको ए र बी प्लटका साथै नमस्कार होटलको अगाडिको खाली जग्गामा गर्ने व्यवस्था गरेको छु ।’ रानीदेखि इटहरी जाने ६ लेन सडकमा कही पनि कसैले सवारी पार्किङ्ग गर्न नपाउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।  

    प्रहरी निरीक्षक पोख्रेलले सार्बजनिक यातायातमा भाडा दर उल्लेख गर्नुपर्ने, सवारी चालकले जुत्ता लगाएर मात्रै सवारी चलाउन पाउने र चालक, सहचालक लगायत सार्वजनिक यातायातका कर्मचारीले परिचयपत्र झुण्डियाउनु पर्ने व्यवस्था गरेको बताउनुभयो ।

    ‘स्कूल बसहरुले सहरी क्षेत्रमा घरघरबाट बालबालिकाा संकलन गर्दै आएकोले ट्राफिक जाम हुने गरेकोले २ सय मिटर क्षेत्रमा एक ठाउँ विद्यार्थी भेला गराएर चढाउने र ओराल्ने गर्ने व्यवस्था गरेको छु,’ उहाँले भन्नुभयो, ‘स्कूल बसहरुमा सिट अनुसारको मात्रै विद्यार्थी चढाउन पाउने व्यवस्था गरेको र त्यो अनुसार नगर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं ।’ उहाँले ट्राफिक व्यवस्थापनको नाममा अवैध रुपमा असूली गरेको पाइएमा तत्काल कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले ट्राफिक व्यवस्थापन अभियान अन्तर्गत आर्थिक वर्ष ०७४/७५ मा जिल्लाभरि ५४ हजार ८ सय १६ सवारी साधनलाई कारबाही गरेर ३ करोड ४१ ह्जार ५ सय राजश्व असुली गरेको बताउनुभयो । सबभन्दा बढी १९ हजार ७ सय ९२ मोटरसाइकल चालकलाई कारबाही गरी १ करोड २१ लाख ८ हजार राजश्व असूली गरेको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला ट्राफिकले आव ०७३/७४ मा ३३ हजार ८ सय ८३ सवारी साधनलाई कारबाही गरी १ करोड ९९ लाख ९६ हजार राजश्व असूली गरेको थियो भने आव ०७२/७३ मा ३५ हजार ४ सय ५४ सवारी साधनलाई कारबाही गरेर १ करोड ४७ लाख ७६ हजार ६ सय राजश्व असूली गरेको थियो । 

    प्रकाशित:असार ३२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्