बल्झियो फोहोरको समस्या : चुलियो फोहोरको पहाड

काठमाडौं

    श्रावण १, २०७५

    नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमा फोहोरको पहाड भासिन थालेपछि फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौं उपत्यका दुर्गधिन्त बन्न थालेको छ । शहरका प्रमुख स्थानमा थुप्रिएको फोहोरले शहरको सुन्दरतामा प्रभाव पार्नुका साथै वर्षाको पानीले बगाउँदा संक्रमणको समेत सम्भावना बढेको छ ।

    सिसडोलमा वर्षाका कारण फोहोरको पहाड भास्सिदै जाँदा ठाउँ–ठाउँमा धाँजा फाटेर जमिन कोल्पु खोलातर्फ धस्सिन थालेपछि काठमाडौं उपत्यकामा फेरि पनि फोहोर व्यवस्थापनको समस्या बल्झिएको हो । फोहोरमाथि बनाईएका सडक हिलो र चिप्लो भएकाले फोहोर बोकेर गएका टिपर चढ्न नसकी अलपत्र पर्ने गरेका छन् । 

    फोहोर खन्याएर टिपर राजधानी फर्कन ढिलो भएपछि चोक र घरका फोहोर संकलनमा समेत समस्या भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं र ललितपुर महानगरको फोहोर संकलन केन्द्र टेकु र बालकुमारीमा पनि फोहोरको थुप्रो लागेको छ । सिसडोलमा परीक्षणका रूपमा फोहोर फाल्न १३ वर्षअघि खाल्डो बनाइएको थियो । ३ वर्षका लागि खनिएको सो खाल्डो पुरिएर अहिले ७ सय ४० रोपनी क्षेत्रफलमा फोहोरको पहाड खडा भएको छ । 

    फोहोर व्यवस्थापनको जिम्मा काठमाडौं महानगरको भएपनि स्थान सरकारले दिनुपर्ने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । सरकारलाई गुहार्ने निर्णय भएपनि त्यसतर्फ कुनै पनि पहल भने भएको छैन । फोहोर व्यवस्था गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने संघिय मामिला तथा सामान्य प्रशासनले मन्त्रालयले स्पष्ट पारेको छ ।

     

    प्रकाशित:श्रावण १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्