विराटनगर भन्सारद्वारा लक्ष्यभन्दा ५ प्रतिशत बढी राजश्व असूली

- देवनारायण साह, मोरङ

    श्रावण १, २०७५

    मोरङको विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७४/७५ मा लक्ष्यभन्दा बढी राजश्व असूली गरेको छ । भन्सार कार्यालयले भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्रिएका सामानबाट लक्ष्यभन्दा ५ प्रतिशत बढी ३२ अर्ब ८१ करोड २६ लाख ८९ हजार राजश्व असूली गरेको हो । हाइस्पीड डिजेल आयातबाट सबभन्दा बढी २ अर्ब ३६ करोड ६३ लाख २३ हजार राजश्व संकलन भएको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताउनुभयो ।

    १३ अर्ब २ करोड २० लाख १५ हजार मूल्य बराबरको २ लाख १२ हजार ३ सय ९६ किलो लिटर हाइस्पीड डिजेल आयात भएको छ । यस्तै, विराटनगर भन्सारबाट सबभन्दा बढी आयात हुने वस्तुमा चिनी दोस्रो स्थानमा उक्लेको छ । ३ अर्ब ५५ करोड ४६ लाख २६ हजार मूल्य बराबरको ७ करोड ८७ लाख ६२ हजार ७ सय ९२ किलो चिनी आयात हुँदा १ अर्ब ३८ करोड ५२ लाख ९९ हजार भन्सार असूली भएको उहाँले बताउनुभयो ।  

    सीआर सीटबाट १ अर्ब ३८ करोड ५२ लाख ९९ हजार, पेट्रोलबाट १ अर्ब ३२ करोड ७० लाख ५९ हजार, एसएस बिलेटबाट १ अर्ब ३१ करोड ८३ लाख ६० हजार, पोलिथिन दानाबाट १ अर्ब ३० करोड ३७ लाख ९९ हजार राजश्व असूली भएको छ ।

    १ अर्ब २८ करोड ३८ लाख ४८ हजार मूल्य बराबरको १७ हजार ८ सय ६६ वटा मोरसाइकल आयात हुँदा १ अर्ब ३२ करोड ६९ लाख ९७ हजार राजश्व असुली भएको अधिकारीले बताउनुभयो । भन्सार कार्यालयको गत आर्थिक वर्षको ३१ अर्ब २४ करोड ४८ लाख ८१ हजार भन्सार असूली लक्ष्य थियो । भन्सार महसुलको १३ अर्ब ४४ करोड ९२ लाख ४७ हजार असूली लक्ष्य पाएकोमा १३ अर्ब ५८ करोड २४ लाख ९४ हजार असूली गरेको छ ।

    मूल्य अभिवृद्धि करको १३ अर्ब २२ करोड ५७ लाख २९ हजार असूली लक्ष्य पाएकोमा १७ अर्ब ५३ करोड १३ लाख ६१ हजार र अन्त: शुल्कको ४ अर्ब ५६ करोड ९९ लाख ५ हजार असूली लक्ष्य पाएकोमा १ अर्ब ४२ करोड ८८ लाख ३५ हजार असूली भएको भन्सार तथ्यांकले जनाएको छ । अन्त: शुल्क लक्ष्यभन्दा कम उठेको छ भने भन्सार महसुल र मूल्य अभिवृद्धि कर लक्ष्य भन्दा बढी असूली भएको हो । 

    आर्थिक वर्ष ०७३/७४ मा २४ अर्ब ३० करोड ४० लाख ३७ हजार राजश्व असूली लक्ष्य पाएको यस भन्सारले २४ अर्ब ८५ करोड २१ लाख ५८ हजार राजश्व संकलन गरेको थियो । गत वर्ष विराटनगर भन्सारबाट १ खर्ब ४६ अर्ब ४७ करोड ८१ लाख ३२ हजार मूल्य बराबरको विभिन्न सामान आयात भएको छ भने २४ अर्ब ६ करोड १३ लाख २७ हजार मूल्य बराबरको सामान मात्रै भारत लगायत तेस्रो मुलुक निर्यात भएको भन्सार तथ्यांकले जनाएको छ । विगत आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ३४ दशमलव ७४ प्रतिशत आयात र ११ दशमलव ६२ प्रतिशत निर्यात वृद्धि भएको छ ।

    आर्थिक वर्ष ०७३/७४ मा १ खर्ब १७ अर्ब २३ करोड २६ लाख ६९ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने २१ अर्ब ५५ करोड ५८ लाख २३ हजार मूल्य बराबरको सामान यस भन्सार नाकाबाट निर्यात भएको थियो । 

    भन्सार प्रमुख अधिकारीका अनुसार सो भन्सकारबाट पिना, भेनियर सीट, बनस्पतिजन्य उत्पादन, चोकर, भुस, सेन्थेटिक यार्न, जुटका विभिन्न उत्पादन, रेसाको कपडा, जीआई वायर, चाउचाउ, नुडल्स, पास्ता, सागपात, हरियो तरकारी, जडीबुटी, अलैंची लगायतका उत्पादन यस नाकाबाट निर्यात हुँदै आएको छ । 

    प्रकाशित:श्रावण १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्