पहिरो र बाढीले बुर्तिवाङ बजारमा दर्जन घर पुरिए

- प्रकाश बराल , बागलुङ

    श्रावण २, २०७५

    लगातारको वर्षापछि झरेको पहिरो र बाढीले बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिवाङका दर्जन बढी घर पुरिएका छन् । थप एक दर्जन घरमा क्षति पुगेको छ । बुर्तिवाङ अस्पतालको पहिलो तल्ला सम्म ढुंगामाटोले पुरिएको छ ।

    पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्डमा समेत क्षति पुगेपछि हिजोको रात्री सेवा र आज बिहान छुट्ने सवारी सञ्चालन प्रभावित भएको छ । पहिरो र बाढीबाट मानवीय क्षति नभएपनि धेरैको घरबार उठेको छ । प्रहरीका अनुसार ११ घरमा पूर्ण र १२  घरमा आंशिक क्षति पुगेको छ भने २ वटा ग्रील उद्योग, एउटा फर्निचर र एउटा कुटानी पिसानी मिल पुरिएको छ ।

    गएराती एक्कासी पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान बचाएकोको ईलाका प्रहरी कार्यालयका निरिक्षक ओमप्रकाश यादबले बताउनुभयो । पहिरो पिडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन् । बजारभर हिलो पसेकोले पैदल हिड्नपनि सास्ती भएको छ । बजार देखि भवरेटा जाने ग्रामीण सडक खनेको ट्रयाकबाट पानी सोहोरिएपछि बजारमा पहिरो खसेको प्रहरीले बताएको छ । पानीले ढुंगा, माटो एकैसाथ ल्याएपछि ठूलो भौतिक क्षति भएको हो ।

    प्रभावितहरुलाई राख्न सुरक्षित स्थानको खोजी भईरहेको स्थानीय प्रशासनले जनाएको छ । 

     

    प्रकाशित:श्रावण २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्