बुटवल उपमहानगरले फालेको फोहोरले तिनाउ नदी प्रदुषित

- अमृता अनमोल, बुटवल

    श्रावण ५, २०७५

    - बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा स्थानीय तिनाउ नदी प्रदूषित भएको छ ।  उपमहानगरका प्रमुख शिवराज सुवेदीले भने स्थायी प्रशोधन केन्द्र नभएकाले नदी किनारमा फोहोर फाल्नुको विकल्प नरहेको बताउनुभयो ।

    नदीमा सिधै फोहोर नजाओस् भनेर खाडल खनेर फोहोर फाल्ने गरेको उहाँको दावी छ । गत वर्ष गरेको अध्ययन अनुसार बुटवलमा दैनिक करिब ५३ टन फोहोर जम्मा हुन्छ । त्यसमा करिब ७० प्रतिशत कुहिने र ३० प्रतिशत फोहोर नकुहिने छ । तर प्रशोधन केन्द्र नहुँदा उपमहानगरले सबै फोहोर एकै ठाउँमा फाल्ने गरेको छ ।  साविक बुटवल नगरपालिकाले १९ वर्षअघि फोहोर प्रशोधन केन्द्र बनाउने योजना अघि सारेको थियो । सोही अनुसार सन् २०१० मा  एसियाली डेभलपमेन्ट बैंक (एडीबी) सँग आर्थिक सम्झौता  गरी सन् २०१५ को डिसेम्बरसम्म निर्माण सक्ने तय गरिएको थियो । 

    स्थानीय बासिन्दाले आफ्नो बस्ती आसपासमा फोहोर फाल्न नदिने अडान लिएपछि योजना अलपत्र बनेको  हो । समस्या समाधानका लागि उपमहानगरले ठोस कदम अघि सार्न नसक्दा नदी, वरपरको वातावरण मात्रै नभई जनस्वास्थ्यमा पनि प्रतिकुल असर परेको छ । 

     

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्