चुस्त शैक्षिक वातावरण निर्माणमा अग्रसर हुन प्रधानमन्त्री ओलीको आग्रह

- रमेश दुलाल, काठमाडौं

    श्रावण ५, २०७५

    – प्रधानमन्त्री केपी शर्मा ओलीले चुस्त शैक्षिक वातावरण निर्माणमा अग्रसर हुन आग्रह गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले त्रिविको  ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उच्च शिक्षामा समय सापेक्ष परिमार्जन गर्न आग्रह गर्नुभएको हो । अन्तराष्ट्रिय स्तरमै प्रतिष्पर्धाका लागि विश्वविद्यालयहरुमा अनुसन्धान तीब्र बनाइनुपर्ने उहाँको भनाई छ ।

    सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति समेत रहेका गिरिराजमणि पोखरेलले विश्वविद्यालयले सुरु गरेको सेमेष्टर प्रणाली, प्रविधियुक्त शिक्षा, विज्ञान र प्रविधि शिक्षाको विस्तार लगायतका कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्नुभयो । विश्वविद्यालयका समस्या र आगामी योजना निर्माणका लागि थप छलफल अगाडी बढाइने उहाँको भनाई थियो । उपकुलपति तिर्थ खनियाँले विश्वविद्यालयले विश्वका १ सय ६० बढी विश्वविद्यालय तथा संघ संस्थासँग शैक्षिक कार्यक्रममा सम्झौता गरेको बताउनुभयो । 

    त्रिविको ५६ औं ग्रेस लिष्टको विवरण अनुसार यस बर्ष ७३ हजार ९ सय १ जना विद्यार्थी आगामी पुस महिनामा हुने दीक्षान्त समारोहमा सरिक हुने छन् । जसमध्ये शिक्षा शास्त्रमा २४ हजार ७ सय ३, ब्यवस्थापनमा २२ हजार ६ सय ९, मानविकी तथा सामाजिक शास्त्रमा १४ हजार २ सय १५ र कानूनमा १ हजार ३ सय ५०, विज्ञानमा ५ हजार ९ सय ५५, ईञ्जिनीयरिङ्मा २ हजार ७ सय १२ चिकित्सामा १ हजार ८ सय २१, कृषिमा ३ सय २६ र वनमा २ सय १० विद्यार्थी रहेका छन् ।

    कार्यक्रममा वित्रिका विभिन्न स्थानमा रहेका क्याम्पसहरुलाई भवन निर्माणका लागि जग्गा दान दिई सहयोग गर्ने दातालाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो । 

     

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्