ट्राफिक प्रहरीद्वारा झण्डै एक करोड राजश्व संकलन

- प्रतीक्षा काफ्ले, स्याङ्जा

    श्रावण ५, २०७५

    जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष ०७४/७५ मा ७५ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । करिब १० हजार पाँच सय ८९ सवारी साधनलाई कारबाही गरी झण्डै १ करोड राजश्व संकलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७३/७४ मा आठ हजार पाँच सय ४८ सवारी साधनलाई कारबाही गरी ५८ लाख १२ हजार राजश्व संकलन गरेको थियो ।

    गत वर्षको तुलनामा दुई हजार ४१ बढी सवारी साधनलाई कारबाही गरी १७ लाख ३४ हजार बढी राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख उमेश महतोले जानकारी दिनुभयो । ‘आव ०७३/७४ मा भन्दा आव ०७४/७५ मा ट्राफिक नियम कडाईका साथ लागू गरेका कारण राजश्व धेरै संकलन भयो’ महतोले भन्नुभयो, ‘आर.एस.सी.सी. अवधारणा अनुसार जिल्लाका विभिन्न ठाउँहरुमा ट्राफिक चेक जाँच भैरहेको छ ।’

    कागजातहरु नभएका, मापसे गरी सवारी चलाउने र ट्राफिक नियमहरु उल्लङ्घन गर्नेहरुबाट धेरै राजश्व संकलन भएको महतोले जानकारी दिनुभयो । आव ०७४/७५ मा एक हजार एक सय ४२ ट्रक कारबाहीमा परेका छन् । जसबाट ७ लाख २९ हजार राजश्व संकलन भएको थियो भने ९ सय ३० बस कारबाहीमा पर्दा ५ लाख ९० हजार राजश्व संकलन भएको हो ।

    त्यसै गरी ३ हजार ७५ जिप, भेन र कार कारबाहीमा पर्दा २१ लाख १८ हजार राजश्व संकलन भएको छ भने ५ हजार ४ सय ४२ ट्याक्टर र मोटरसाईकल कारबाहीमा पर्दा ४१ लाख ९ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सबभन्दा बढी ५ हजार १ सय ५ मोटरसाईकल कारबाहीमा परेका थिए । रचनात्मक कार्य गर्दै आएको ट्राफिक प्रहरीले यात्रु, चालक र सहचालकहरुलाई एकै ठाउँमा राखेर ट्राफिक नियम सम्बन्धी कक्षाहरु संचालन गर्दै आएको छ । ट्राफिक नियम सम्बन्धी कक्षाहरु स्याङजाको पुतलीबजार, बालिङ, चापाकोट, फेदीखोला, बयरघारी र गल्याङ लगायतका क्षेत्रहरुमा संचालन भएको कार्यालयले बताएको छ । 

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्