'म्यान्डेट प्राप्त सरकारी टोलीसँग मात्र वार्ता'

काठमाडौं

    श्रावण ५, २०७५

    त्रिवि शिक्षण प्रा डा. गोविन्द केसीका प्रतिनिधिहरुले चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता भएपछि पूर्ण म्यान्डेट प्राप्त गरेको सरकारी टोलीसँग मात्र वार्ता हुन सक्ने जनाएको छ । सरकारी वार्ता टोलीले निस्र्सत वार्तामा आउन आह्वान गरेपछि डा. केसीका प्रतिनिधिहरुले विज्ञप्ति मार्फत सो जवाफ दिएका हुन् ।

    डा. केसीका तर्फबाट निस्सर्त वार्ताका लागि यस अगाडि नै वार्ता टोली गठन भइसकेको औल्याउंदै केही चरण वार्ता समेत भएको केसी प्रतिनिधिहरुले उल्लेख गरेका छन् । सरकारी टोलीसँग आवश्यक म्यान्डेट नभएको र त्यस अवस्थामा वार्ताकै लागि वार्ता गरिरहँदा मुल्यवान समय खेर जाने देखिएकाले सार्थक वार्ताका लागि हाल संसदमा रहेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न र पूर्ण म्यान्डेट सहितको वार्ता टोली पठाउन डा. केसीले चार दिन अघि नै सरकारलाई आग्रह गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच, विगत २२ दिनदेखि अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले निस्र्सत वार्तामा आउन आश्वान गरेको थियो । वार्ता टोलीका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले आज विज्ञप्ति मार्फत वार्तामा आउन आग्रह गरेका हुन् ।

    ‘सरकारी वार्ता टोली डा. केसीको माग वार्ताबाटै सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ससर्त वार्ता हुादैन, निर्सत जुन कुनै बेला वार्ता गर्न तयार छौं ।’ 

    सरकारी टोलीले डा. केसी पक्षको वार्ता टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म वार्तामा नबस्ने भनाइका कारण वार्ताले गति लिन नसकेको हो ।’ केसी पक्षको टोलीले उक्त अडान छाडेर वार्तामा आउनुपर्ने सरकारी वार्ता टोलीको भनाइ छ । 

    केसी पक्षको वार्ता टोलीको सोही अडानका कारण जीवनरक्षाका लागि उनलाई सरकारले जुम्लाबाट काठमाडौंं ल्याएको सरकारी वार्ता टोलीको दाबी छ । सरकारले असार ३२ गते बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता कमिटि गठन गरेको थियो ।

    ३ पटक वार्ता भएपनि सकारात्मक हुन नसकेको संयोजक बरालले बताउनुभयो । वार्ता टोलीको उपस्थितिमा सरकारले केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखेको छ । केसीको स्वास्थ्य अवस्था भने झनझनै बिग्रिदै गएको छ ।

    प्रकाशित:श्रावण ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्