बीपी प्रतिष्ठानमा उपचार सेवा शुल्कमा वृद्धि

सुनसरी

    श्रावण ६, २०७५

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शल्यक्रिया, वेड शुल्क, ल्याव टेस्टलगायत उपचार सेवा शुल्कमा १० प्रतिशतसम्म बृद्धि गरेको छ । प्रतिष्ठानले ओपिडी, इमर्जेन्सी टिकटमा १ सय १० रुपैयाँ, जनरल बेडमा प्रतिदिन २ सय २० रुपैयाँ, सेमीजनरल बेडमा प्रतिदिन ६ सय ५० रुपैयाँ, एसी विनाको प्राइभेट वेडमा १ हजार ७ सय रुपैयाँ, एसीसहितको प्राइभेट वेडमा प्रतिदिन २ हजार २ सय रुपैयाँ र नर्सरी वेडमा २ सय ५० रुपैयाँ शुल्क तोकेको छ ।

    अप्रेसन तर्फ माइनर ओटीको २ हजार ८ सय रुपैयाँ, मध्यमस्तरको ६ हजार ५ सय, मेजर अप्रेशनको १२ हजार, ल्याप्रोस्कोपिक सर्जरीको १५ हजार र ल्याप्रोस्कोपिक एपेन्डेक्टोमीको १४ हजार रुपैयाँ निर्धारण गरेको छ । यस्तै प्रोस्टेटको जाँच तथा उपचार टियुआरपी, टियुआरविटी, ओआइसी, युटेरोस्कोपको १६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छा ।

    प्रतिष्ठानका प्रवक्ता प्रा.डा. पशुपति चौधरीले तीन वर्षदेखि शुल्क वृद्धि नगरिएकाले यो आर्थिक बर्षदेखि १० प्रतिशत वृद्धि गरिएको जानकारी दिनुभयो । निजी अस्पतालको तुलनामा प्रतिष्ठानले तोकेका उपचार सेवा शुल्क अति नै कम भएकाले १० प्रतिशतसम्म सेवा शुल्क बृद्धि गरिएको उहाँको स्पष्टोक्ति थियो । प्रतिष्ठानमा अप्रेशन गर्दा अधिकतम १५ हजार रुपैयाँ लिने गरेको बताउदै उहाँले सोही सेवा निजी अस्पतालमा चार गुणा बढी पर्ने दावी गर्नुभयो । तीन वर्षपछि गरेको उपचार सेवा शुल्क वृद्धिले सेवाग्राहीलाई थोरै आर्थिक भार पर्ने भएपनि वार्षिक प्रक्रिया भएपनि तीन वर्षमा शुल्कबृद्धि गरिएकाले अन्यथा नलिन उहाँको आग्रह थियो । निजी अस्पतालमा विरामीको चाम कम हुने भएकाले तत्कालै उपचार सेवा पाउने गरेका छन् भने प्रतिष्ठानमा अत्यधिक चापले उपचार सेवा पाउन लामोसमय कुर्नु पर्ने बाध्यता छ । 

    सर्वसाधार विरामीमा पर्ने आर्थिक भार पछिल्लो समयमा सामाजिक स्वास्थ्य सुरक्षा विमाले पनि कम गर्ने प्रवक्ता डा चौधरीको भनाई छ । उपचार सेवा शुल्क नै तिर्न नसक्ने विरामीकालागि गाउँपालिका, नगरपालिकाले दिएको सिफारिसका आधारमा प्रतिष्ठानले निशुल्क उपचार सेवा पनि दिदै आएको छ ।

    प्रतिष्ठानले निशूल्क उपचार सेवामा बार्षिक करिव अढाइ करोड रुपैयाँ खर्च गर्दै आएको छ । प्रतिष्ठानमा सात सय वेड छन् । दैनिक सरदर तीनहजार नयाँ विरामीहरु उपचारकालागि आउने सो प्रतिष्ठानले दैनिक सरदर ३० लाख रुपैयाँको कारोबार गर्ने गरेको छ । 

    प्रकाशित:श्रावण ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्