मोतीपुर औद्योगिक क्षेत्रमा उद्योग खोल्न आशयपत्र माग

- अमृता अनमोल, बुटवल

    श्रावण ६, २०७५

    सरकारले रुपन्देहीको प्रस्तावित प्रदेश ५ स्तरीय मोतीपुर औद्योगिक क्षेत्रमा उद्योग खोल्न चाहने उद्योगीबाट आशयपत्र माग गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले इच्छुक उद्योगीलाई एक महिना भित्र आशय पत्र पेश गर्न आग्रह गर्दै असार २० गते आशय पत्र माग गरेको हो । अन्यत्र निर्माणाधिन उद्योगमा सरह मोतीपुरमा पनि आशयपत्र माग गरेको लिमिटेडका इन्जिनियर अमृत शाहीले बताउनुभयो ।

    लगानीकर्ताले कस्ता उद्योग स्थापना गर्न खोजेका छन् तथा कस्ता उद्योगको सम्भावना छ भन्ने पत्ता लगाउन र मागका आधारमा संरचना बनाउन आशयपत्र माग गरिएको उहाँको भनाइ छ । औद्योगिक क्षेत्रमा आशयपत्र मागसँगै स्थान अभावले उद्योग बिस्तार गर्न नपाएका उद्योगी खुसी भएका छन् । आशयपत्र केन्द्रमा सोझै इमेल मार्फत पेश गर्न सकिने छ।

    यद्यपि, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, घरेलु तथा साना उद्योग महासंघ लगायतले पनि इच्छुक उद्योगीका आशय पत्र संकलन गरेका छन् । रुपन्देहीको तिनाउ नदी किनारको मोतीपुरमा ८ सय १३ बिगाह क्षेत्रफलमा ५ नम्बर प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माण हुँदैछ ।

    औद्योगिक क्षेत्र रुपन्देहीको बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको छ । त्यसमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सकिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले तयार गरेको प्रतिवेदन अनुसार २ सय ६२ ठूला मझौला र साना उद्योग स्थापना गर्न सकिने छ ।  

    प्रकाशित:श्रावण ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्