निषेधित क्षेत्रमा तरण दलको प्रर्दशन

- भीमबहादुर सिंह, जाजरकोट

    श्रावण ६, २०७५

    नेपाल दरुण दल जाजरकोटले आज निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । तरुण दलले शनिबार काठमाडौंको माइतीघरमा भएको धरपकड विरुद्ध जिल्ला प्रशासन कार्यालयको प्राङ्गनमा प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको हो । तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक शैली विरुद्ध प्रर्दशन र धर्ना कार्यक्रम गरेको हो ।

    तरुण दलका अध्यक्ष हरिचन्द्र बस्नेतको नेतृत्वमा रहेको कार्यकर्ताले प्राध्यापक डा.गोविन्द केसीको समर्थनमा खलंगाको गैरीखालीबाट नारा जुलुश गर्दै प्रशासनमा धर्ना दिएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयको मुलद्वार प्रवेशमा रोक लगाए पनि तरुण दलका कार्यकर्ता जबरजस्ती भित्र छिरेर प्रर्दशनमा उत्रनुका साथै धर्ना दिएका थिए ।

    तरुण दलका अध्यक्ष बस्नेतले सरकारको अलोकतान्त्रिक गतिविधि विरुद्ध र लोकतन्त्रको रक्षाको लागि हजारांै तरुणलाई आन्दोलनमा उतारेर ज्यानको बाजी लाउन तयार भएको बताउनुभयो । उहाँले धर्ना कार्यक्रममा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्नुभयो । बस्नेतले सरकारलाई तानाशाही नबनी डा केसीको माग तत्काल सम्बोधन गर्न चेतावनी समेत दिनुभयो । 

    गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं ३० अनुसार जिल्ला सुरक्षा समितिले सदरमुकाम खलंगा भित्रका तल्लो थाप्ले, ठाँटीबजार र गैरीखाली बाहेकका स्थानमा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न रोक लगाएको थियो । तोकेका स्थान बाहेक अन्य स्थानमा आमसभा, हड्ताल, प्रर्दशन, जुलुस लगायत कार्यक्रम गर्न नपाईने गरी निषेधित क्षेत्र घोषणा गरेपनि तरुण दलका कार्यकर्ताले भने प्रशासन कार्यालय परिसरमै सरकार विरुद्ध प्रर्दशन तथा धर्ना कार्यक्रम गरेको स्थानीय हरिजंग शाहले बताए । 

    यसैबीच, नेपाली काँग्रेस जाजरकोटले शान्तिपूर्ण तवरले आमसभा, प्रर्दशन, जुलुस लगायत कार्यक्रम गर्न नपाईने गरी निषेधित क्षेत्र तोक्ने गृह प्रशासनको निर्णयको भत्सर्ना गरेको छ । काँग्रेसले निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गर्दै एक विज्ञप्ति समेत जारी गरेको छ । 

    प्रकाशित:श्रावण ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्