'फेक' इन्काउन्टर हल्ला मात्रै भएको गृहमन्त्रीको दाबी

काठमाडौं
  • विश्वकर्मा ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टोक्ति

श्रावण २५, २०७५

-गृहमन्त्री रामबहादुर थापाले बालक अपहरण र हत्यामा संलग्नमाथिको इन्काउन्टर 'फेक' रहेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग आज गृहमन्त्री थापाले अपराधा संलग्नलाई २४ घण्टाभित्रै फेला पार्न सफल भएको भन्दै सो इन्काउन्टर 'फेक' नभएको बताउनुभयो ।

मन्त्रालयमा प्राप्त सूचना अनुसार सो घटना मुठभेडबाटै भएको उहाँको दाबी छ । गृहमन्त्री थापाले भन्नुभयो– ’फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।’

हिजो मात्रै महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले गृहमन्त्री थापालाई भेटेर बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीमाथिको प्रहरी इन्काउन्टर ‘फेक’ नभएको ब्रिफिङ गर्नुभएको थियो । गत आईतबार काठमाडौंको काडाँघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्कालाई प्रहरीले सोमबार मृत फेला पारेको थियो ।

सोही दिन अपहरणमा संलग्न सिन्धुपाल्चोकका २२ बर्षीय गोपाल तामाङ र नुवाकोटका २३ बर्षिय अजय तामाङको पनि प्रहरीको गोली लागी मृत्यु भएको थियो । प्रहरीले इन्काउन्टरमा उनीहरुको मृत्यु भएको बताउँदै आएपनि सो इन्काउन्टर 'फेक' भएको भन्दै प्रहरीको आलोचना भएको छ । 

फरक प्रसंगमा गृहमन्त्री थापाले पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको स्पष्टिकरण दिनुभएको छ । 

विश्वकर्मा अपराधी हुन् ? भन्ने संचारकर्मीको प्रश्नमा मन्त्री थापाले भन्नुभयो ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’

 

प्रकाशित:श्रावण २५, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्