पाइपबाट भान्सामा ग्यास, विराटनगरवासी उत्साहित

- देवनारायण साह, विराटनगर

    भाद्र ५, २०७५

    गाईको गोवर प्रयोग गरी विराटनगर महानगरपालिका–१४ मा एक सय बढी घरलाई पुग्ने गरी वायो ग्यास उत्पादन भएको छ । २०४४ सालमा स्थापना भएको सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट ग्यास उत्पादन गरेको हो ।

    करिब २ हजार किलो गोवरबाट गत साउन २० गतेबाटै उत्पादित सो ग्यास/ पाइपबाट स्थानीयको घरमा पुर्‍याईसकिएको छ । बायो ग्याँस प्लाण्टबाट उपभोक्तालाई गत शुक्रबारदेखि नै समाजले नियमित ग्याँस आपुर्ति गर्दै आएको छ ।  

    बिश्व बैंकको ८५ लाख रुपैयाँ आर्थिक सहयोग तथा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा तयार पाइप ग्यासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्याँस वितरण गरेको बताउनुभयो ।

    उपभोक्ताको घरघरमा ग्याँस चुल्हो बालेर ५ दिन परीक्षण गरेपछि साउन २० गते रातीदेखि नियमित आपुर्ति गरिरहेको उहाँको भनाई छ । गौशालाभन्दा उत्तरतर्फ एक किलोमिटरसम्मको बस्तिको ४८ घरमा दोस्रो चरणमा ग्याँस पुर्‍याउने लक्ष्य रहेको अग्रवालले बताए । 

    सुरुमा ८४ लाख रुपैयाँमा निर्माण थालेको प्लाण्टको निर्माण लागत भने बढेर १ करोड २५ लाख पुगेको छ । शुरुमा लागत मूल्यको २० प्रतिशत १६ लाख गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो तर पछि प्रधानमन्त्री ओलीको पाइपबाट घरघरमा ग्याँस पुर्‍याउने सपना पूरा गर्ने उद्देश्यले वायो ग्याँस सहयोग कार्यक्रम अन्तर्गत सरकारले बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रमार्फत २० प्रतिशत लागत सहभागिता ४० लाख उपलब्ध गराइदिएको छ । जिल्ला समन्वय समितिका वातावरण तथा उर्जा अधिकृत ज्ञानेन्द्र सिंहले सो योजनाका लागि विश्व बैंकले ८५ लाख अनुदान सहयोग उपलब्ध गराएको बताउनुभयो । ग्यास उत्पादनका लागि गौशाला क्षेत्रमा करिब ३ सय घनमिटर क्षमताको प्लान्ट जडान गरिएको अग्रवालको भनाई छ । 

    स्थानीय रीनादेवी मिश्रले गत आइतबार रातीदेखि नै पाइपबाट भान्छामा आइपुगेको ग्याँसमा खाना पकाउन थालेको बताउदै पाइपबाट घरको भान्छामा आएको ग्याँसमा पहिलो पटक खाना पकाउन पाउँदा आश्चर्य र खुशी दुबै लागेको बताउनुभयो ।

    बायो ग्याँसमा पकाएको खाना एलपी ग्यास भन्दा मिठो र छिटो पाक्ने मिश्रको भनाई छ । स्थानीय रोहिनी कुमारी यादवले पाइपबाट भान्छामा नै ग्याँस आइपुगेपछि निकै सुविधा भएको सुनाउनुभयो । 

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्