मुख्यमन्त्री पौडलद्वारा मन्त्रालयलाई कानून बनाउन निर्देशन

- प्रताप विष्ट, हेटौंडा

    भाद्र ५, २०७५

    प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारलाई सहज ढंगले अगाडि बढाउन मन्त्रालयलाई तत्काल कानून निर्माण गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पौडेलले कानूनको अभावमा कार्य सम्पादनमा ढिलाई भएको भन्दै तत्काल कानून निर्माण गर्न मन्त्रालयहरुलाई निर्देशन दिनु भएको हो ।

    प्रदेशका मन्त्रालयले गरेका कामको प्रगतिका विषयमा अनुगमनको क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले कानून अभावले गर्दा प्रदेश सरकारले गति लिन नसकेको बताउनुभयो ।

    सरकार गठन भएको ६ महिनामा धेरै समस्या र चुनौतीलाई पन्छाउँदै अगाडि बढीरहेको भएपनि अहिले कानूनी समस्या देखा परेको बताउनुभयो । प्रदेश सरकारले उद्योग वर्ष घोषणा गरेपनि काम गर्न कानून अभाव रहेको उहाँले बताउनुभयो ।

    संघीय सरकारले औद्योगिक क्षेत्रको जिम्मा प्रदेश सरकारलाई अहिलेसम्म नदिएकाले उद्योग वर्षलाई कार्यान्वयनमा ल्याउन समस्या भएको मुख्यमन्त्री पौडेल बताउनुभयो । उहाँले भन्नुभयो, ‘औधोगिक क्षेत्र प्रदेश सरकार मातहत हुनुपर्छ ।’ उद्योगहरु प्रदेशको मातहातमा आउन नसकेकोले उद्योग वर्षले सार्थकता पाउन नसकेको उहाँको भनाई थियो ।

    स्वदेशी तथा विदेशी उद्योगहरु प्रदेशमा स्थापना गर्ने लक्ष्य राखिएको भएपनि स्वीकृति प्रदान गर्न नसक्दा नयाँ उद्योग स्थापना नभएको उहाँको तर्क थियो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले अहिले वन अतिक्रमण गर्नेको संख्या बढिरहेको बताउनुभयो ।

    काम गर्न चाहेपनि कानून नभएकाले समस्या ल्याउने गरेको छ’ उहाँले भन्नुभयो, ‘हामी कुद्न चाहन्छौं तर चाहेर पनि नहुने रहेछ, कानूनले रोकेको छ ।’ कार्यक्रममा प्रदेश ३ का मुख्य सचिब आनन्द ढकाल र वन मन्त्रलायका सचिव शिवकुमार वाग्लेले आ – आफना धारणा राखेका थिए । 

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्