वकरीदको अवसरमा प्रदेश २ मा भोलि सार्वजनिक विदा

- सन्तोष सिंह, जनकपुर

    भाद्र ५, २०७५

    प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड इद–ऊल–जोहा (वकरीद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सोमबार साँझ जनकपुरमा बसेको मन्त्रिपरिषदको बैठकले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको हिजोको बैठकले बैठकले ३ वटा विधेयकलाई पारित गरेको छ भने १५ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

    मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयक, कानून निर्माण प्रक्रिया सम्बन्धी विधेयक र प्रदेशसभा सचिव नियुक्ति सम्बन्धी विधेयक पारित गरेको हो । मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्बन्धी ५ वटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्बन्धी ९ वटा र आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्बन्धी १ वटा विधेयक सैद्धान्तिक सहमतिका लागि समेत प्रदान गरेको छ ।

    बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको विधेयकहरुमा प्रदेश सवारी यातायात व्यवस्थापन सम्बन्धी विधेयक, प्रदेश सडक निर्माण मर्मत सम्बन्धी विधेयक, प्रदेश सहरी विकास सम्बन्धी विधेयक, प्रदेश जलस्रोत उपयोग तथा व्यवस्थापन सम्बन्धी विधेयक, प्रदेश विद्युत सम्बन्धी विधेयक छ ।  

    प्रदेश भूमि व्यवस्थापन सम्बन्धी विधेयक, प्रदेश सहकारी सम्बन्धी विधेयक, प्रदेश प्राङ्गारिक कृषि सम्बन्धी विधेयक, प्रदेश पशु सेवा तथा पशु स्वास्थ्य सम्बन्धी विधेयक, प्रदेश जीवनाशक विषादी सम्बन्धी विधेयक, प्रदेश बीउबीजन सम्बन्धी विधेयक, प्रदेश जलचर संरक्षण सम्बन्धी विधेयक, प्रदेश सुकुम्वासी आयोग सम्बन्धी विधेयक, प्रदेश गुठी सम्बन्धी विधेयक र सुनचाँदी पसलको नियमन अनुगमन सम्बन्धी विधेयकलाई बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको हो ।  

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्