आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन्छ : गर्भनर नेपाल

- रेडियो कान्तिपुर, काठमाडौं

    भाद्र ५, २०७५

    नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०७५/७६ मा सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुने दाबी गरेको छ । सिंहदरवारमा आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा राष्ट्र बैँकका गर्भनर चिरञ्जीवी नेपालले लगातार दुई वर्षसम्मको आर्थिक वृद्धिदरको विश्लेषण पछि चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने बताउनुभयो ।

    गभर्नर नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लगातार दुई वर्ष आर्थिक वृद्धि भयो, अब यो तेस्रो वर्षमा पनि हुनेवाला छ । हाम्रो प्रारम्भिक अनुमान अनुसार आर्थिक वृद्धि राम्रो हुन्छ ।’

    गर्भनर नेपालले लगातार दुई वर्ष ७ दशमलव ४ प्रतिशत, अहिले ६ प्रतिशतको आर्थिक वृद्धिदर र आगामी वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य रहेको बताउनुभयो ।  

    सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्‍याउने, लगानीयोग्य साधन अभिवृद्धि गर्ने र दीर्घकालीन प्रकृतिका ब्याजदरमा कमी ल्याउने मौद्रिक नीति राष्ट्र बैँकले अघि सारेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    गर्भनर नेपालले मुलुकका अधिकांश स्थानमा बैँक र वित्तीय संस्थाको शाखा बिस्तार भएको जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल असार २०७५ मसान्तसम्ममा ६ हजार ६ सय ५१ पुगेको तथा ७ सय ५३ मध्ये हालसम्म ६ सय ३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति रहेको गर्भनर नेपालले समितिलाई जानकारी गराउनुभयो । गर्भनर नेपालले विद्युतीय माध्यमबाट सरकारको राजश्व जम्मा र खर्च भुक्तानी गर्ने कार्य आचू आर्थिक वर्षमा कार्यान्वयमा ल्याउने जानकारी समितिलाई गराउनुभयो । 

    राष्ट्र बैंकले राष्ट्रिय बैंकको शाखा पुर्‍याउन बाँकी स्थानीय तहमा शाखा विस्तार गर्ने, प्रणालीगत रुपमा महत्वपूर्ण रहेका बैंकको पहिचान भावी कार्ययोजना अघि सारेको छ ।

    यस्तै, नियमन र सुपरीवेक्षणका लागि विशेष संरचना निर्माण गर्ने तथा कर्जामा लिइने र निक्षेपमा दिइने ब्याजदरको अन्तर आगामी तीन वर्षभित्र ४ दशमलव ४ प्रतिशतमा ल्याइने भावी कार्ययोजना रहेको जनाएको छ । 

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्