बलात्कारपछि बालिकाको मृत्युको घटना पेचिलो बन्दै

- भवानी भट्ट, कञ्चनपुर

    भाद्र ५, २०७५

    – कञ्चनपुरकी १३ वर्षिय बालिकाको बलात्कार र हत्या भएको घटनासम्बन्धी उत्पन्न विवाद समाधानका लागि प्रहरी र स्थानीयबीच अहिले छलफल भइरहेको छ । घटनासम्बन्धमा भएको प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आज दिनभर प्रदर्शन गरेपछि उत्पन्न तनाव अन्त्यको पहलस्वरुप छलफल भएको हो । मुना भण्डारीको संयोजकत्वमा नागरिक सघर्ष समिति गठन गरेर स्थानीयबासी र प्रशासन छलफल जुटेको हाम्रा कञ्चनपुर सहकर्मी भवानी भट्टले जनाएका छन् । 

    घटनामा भीमदत्तनगरपालिका–१९ का ४१ बर्षिय दिलिपसिंह विष्ट संलग्न भएको दाबीसहित उनलाई सार्वजनिक गरेर प्रहरीले मुख्य अपराधीलाई उन्मुक्ति दिएको आरोप स्थानीयले लगाएका छन् ।प्रहरीले राजनीतिक दबाबमा आएर मुख्य अभियुक्त पक्राउ नगरी ले मानसिक स्वास्थ्यमा समस्या देखिएका विष्टलाई मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको आरोप उनीहरुको छ ।

    विरोध प्रदर्शनका क्रममा स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न खोजेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले दिउँसो दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । 

    बजार बन्द गराउँदै हिडेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा १२ जना घाइते भएका छन् ।

    गत साउन ११ गते भीमदत्तनगरपालिका–२ स्थित साथीको घरमा गएकी बालिकाको शव उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

    लामो समयसम्म अभियुक्त पक्राउ नपरेपछि अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली समेत कन्चनपुर पुगेको थियो । सीआईबी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हिजो अपरान्ह बालिकाको हत्यामा संलग्न रहेको दावी सहित विष्टलाई सार्वजनिक गरेको थियो ।

     

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्