पुल बगाएपछि खोलाबाटै यातायात सञ्चालन

- कृष्ण थापा, गेर्खुटार (नुवाकोट)

    भाद्र ५, २०७५

    तीन दिनदेखि नुवाकोट–रसुवाको पासाङ ल्हामु मार्ग त्रिशूली–बेत्रावती सडक खण्डको गेर्खुटारमा खोलाबाट जबरजस्ती यातायात सञ्चालन गरिएको छ । मंगलबार दिउँसो खोलाको पानीको बहाव घटेपछि बाटोमै रोकिएका नुवाकोट–रसुवाका सवारी आवतजावत भएका छन् । नुवाकोटको विदुर नगरपालिका १ सिम्बुटार र १० गेर्खुटार जोड्ने पक्की पुल शनिबार राति बाडीले बगाएपछि नुवाकोट र रसुवासंगको उत्तरी चीनको अन्तर्राष्ट्रिय नाकासँगको सम्पर्क टुटेको हो ।

    मंगलबारदेखि खोलाको बेग घटेकाले चालकहरुले खोलाबाटै सवारी आवतजावत गराएका छन् । ३ दिनमा फर्किने गरी गोसाइँकुण्ड पदयात्रा निस्केका काठमाडौका कुमार तामाङले एकदिन बढी लागेको बताए । ‘छिटै फर्किन गरी गोसाइँकुण्ड गइयो, ‘उनले भने, ‘सडक अवरोधले चारदिन लाग्यो ।’ पहिरो र पुल भत्केर सडक अवरुद्ध भएकाले बस चालकले बढी सास्ती भोग्नु परेको बा ४ ख ५७९९ नम्बरका बस चालक हिरा तामाङले बताए ।

    पासाङ ल्हामु मार्गमा पर्ने त्रिशूली खण्डको गेर्खुटार, तिरतिरे भीर, रसुवातर्फको धुन्चेपारि त्रिशूली खोला छेउ, खोप्पाङ भीर, लिङलिङ, टिमुरेसम्म ५/७ घण्टा सडक अवरोध हुने र खुल्ने गरेको छ । गेर्खुटारमा अझैपनि यातायातका साधन उक्लिन र खोलामा डुबेपछि स्काभेटरले धकेलेर यातायात आवतजावत गराइएको छ । भत्केको पुलदेखि ५०  मिटर खोलामाथि ह्युम पाइप राखेर अस्थायी सडक बनाउन थालेपनि काम सुस्त छ ।

    गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले सडक छिटो खुलाउने प्रयास नगरेको यातायातका चालकहरु र स्थानीयबासीले आरोप लगाए । ‘यति ठूलो गौरवको आयोजना र अर्बौको बजेट भएको बाटो खुलाउन ३/४ दिन लाग्नु आयोजना माथि शंका गर्न सकिन्छ,’ काठमाडौबाट गोसाइँकुण्ड तीर्थयात्रा गर्न जान लागेको एक तीर्थयात्रीले आक्रोस पोख्दै भने । आयोजनाले ह्युम पाइप राखेको ठाउँ नजिक थोरै कामदार लगाएर जाली भर्न थालेको छ ।

    आयोजनका ठेकेदार तुण्डीले एक स्थानीयको खेतमा पहाड जत्रो ग्राबेल थुपारेको छ । थुपारेको ग्राबेल ठेकेदार ह्युम पाइप माथि हालेर अस्थायी बाटो खुलाउने प्रयास गरेको छैन । एक स्थानीयलेभने,‘ह्युमपाइपमाथि यतिविधि जम्मा पारेको ग्रावेल हालेको हुने थियो ।

    सवारी र यात्रुहरुले सास्ती व्यहोर्नु पर्दैनथ्यो । ग्राबेल हालेर छिटो सडक सञ्चालन गर्ने आयोजनाको सोचै छैन ।’ अस्थायी रुपमा खोलाबाट खोलिएको बाटोमा डुबेका मोटरसाइकले धकेल्नै ३/४ जना लाग्छ । भारबहन गाडीलाई खोला र नजिक उकालो ठाउँमा एस्काभेटरले धकलेपछि मात्र उक्लिन्छ ।

    ‘ह्युम पाइप राखेर काम गरिरहेको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले भन्नुभयो, ‘ह्युम पाइप राखेको ठाउँमा तत्काल सवारी गुडाउने अवस्था छैन । बुधबार दिउँसोसम्म यातायात सञ्चालन होला कि ।’

    मंगलबार दिउँसोबाट रसुवागढी नाकाबाट आएका कन्टेनर, गोसाईँकुण्ड तीर्थयात्रा गर्न जाने र आउने यात्रुवाहक बस, पर्यटक गाडी, खाद्यान्न तथा निर्माण सामाग्री बोकेका गाढी आवतजावत भएका छन् । सदरमुकाम विदुर ल्याइएको खानेपानी अवरुद्ध भएपछि मंगलबारबाट पाइपलाइन मर्मत गर्न खन्न थालिएको छ । सोमबार सांझ देखि खोलाबाट ३/४ हजार भन्दा बढी गाडी आवतजावत गरेको जिल्ला ट्रापिक कार्यालय प्रमुख शम्भुबहादुर अधिकारीले बताउनुभयो । 

     

    प्रकाशित:भाद्र ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्