बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास भोलिबाट

- सुरेशराज न्यौपाने, नयाँदिल्ली
  • नेपाल र थाइल्याण्ड दुबै पर्यवेक्षक मात्र

भाद्र २४, २०७५

भारतको पुनामा भोलि देखि हुन गइरहको बिमस्टेक राष्ट्रहरुको प्रतिआंकवाद सम्बन्धी संयुक्त सैन्य अभ्यासमा नेपालले पर्यवेक्षक रुपमा मात्र सहभागी हुने भएको छ । ‘माइलेक्स २०१८’ नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रुपमा भाग लिनेछन् ।

यसअघि काठमाडौंमा सम्पन्न चौंथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुनामा बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका थिए । तर, मोदीको संयुक्त सैन्य अभ्यासको उक्त प्रस्ताव बिमस्टेको भावना विपरीत भएको र यसअघि त्यस विषयमा कुनै छलफल र चर्चा नभएको भन्दै आलोचित बन्न पुगेको थियो ।

र, नेपालमा सरकारले एकाएक सहभागी हुने निर्णय गरेको भन्दै सर्वत्र विरोध भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर त्यसमा सहभागी नहुने नेपाली सेनालाई निर्देशन दिएका थिए । भदौ २५ देखि ३१ गते सम्म हुने उक्त संयुक्त सैन्य अभ्यासमा ३० सदस्यीय टोली पठाउने गरी नेपाली सेनाले आवश्यक तयारी पूरा गरिसकेको थियो ।

साथै सेना प्रमुख पूर्णचन्द्र थापा सैन्य अभ्यासको समापन समारोहमा उपस्थिति कार्यक्रम समेत तय भएको थियो । सरकारको पछिल्लो निर्णयपछि सेनापति थापा समेत उक्त कार्यक्रममा नजाने भएका छन् । नेपालको सैन्य अभ्यासमा सहभागी नहुने निर्णयका सम्बन्धमा भारतको धारणा के छ ? भन्ने रेडियो कान्तिपुरको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले कुनै प्रतिक्रिया दिन चाहेनन् ।  

भारतीय सञ्चार माध्यमहरुले भने नेपालको निर्णयलाई भारतको उपेक्षाका रुपमा उल्लेख गरेका छन् । आज प्रकाशित भारतीय अंग्रेजी दैनिक द टाइम्स अफ इण्डिया ले सैन्य अभ्यासमा भाग नलिएर भारतको उपेक्षा गरेको लेखेको छ ।

नेपालको सैन्य अभ्यासबाट पछाडि हट्ने निर्णयका पछाडि प्रधानमन्त्री ओलीको चीन प्रतिको झुकाव र सत्तारुढ दलभित्र र बाहिर चर्को विरोध प्रमुख कारण रहेको समेत उक्त पत्रिकाले जनाएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएको थाइल्याण्डले पनि पर्यवेक्षक मात्र पठाउने निर्णय गरेको आज प्रकाशित भारतीय अग्रेंजी दैनिक द टाइम्स अफ इण्डियाले जनाएको छ । 

प्रकाशित:भाद्र २४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्