डोल्पाको जगदुल्लामा नेपाल बैंकको शाखा विस्तार

- विष्णुलाल बुढा, डोल्पा (दुनै)

    भाद्र २४, २०७५

    नेपाल राष्ट्र बैंकले देशका सबै स्थानीय तहमा बैंक सञ्चालन गर्ने उद्देश्यले विभिन्न बैंकहरुलाई कार्यक्षेत्र विभाजन गरी तोकेपनि सुरु हुन नसकेको अवस्थामा डोल्पाको जगदुल्ला गाउँपालिकामा आइतवार बैंक उद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको कार्य क्षेत्र अनुसार नेपाल बैंक लिमिटेडको भागमा परेको जगदुल्ला गाउँपालिकामा आइतबार कर्णाली प्रदेश सभा सदस्य बीरबहादुर शाहीले नेपाल बैंक लिमिटेडको जगदुल्ला शाखा उद्घाटन गर्नुभयो ।

    डोल्पाका ८ स्थानीय तहहरु मध्ये जगदुल्ला गाउँपालिकाले सबैभन्दा पहिले बैंक सञ्चालनको पहल गरेको थियो । विभिन्न समस्याका कारण सबैकुरा जुटाउन ढिला भएकाले आइतबार मात्र बैंक सञ्चालन गर्न सफल भएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायाले बताउनुभयो ।

    डोल्पा जिल्लाका ८ तह मध्ये नेपाल बैंक लिमिटेडले सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिका, जगदुल्ला  गाउँपालिका र काइके गाउँपालिकामा बैंक सञ्चालन गर्ने अनुमति पाएको छ । सदरमुकाम दुनैमा सञ्चालनमा रहेको एक मात्र सरकारी बैंक नेपाल बैंक लिमिटेडले निकट भविष्यमा भौतिक संरचना भेटिएमा तथा निर्माण भएमा अर्को शाखा विस्तार गरिने जनाएको छ ।

    डोल्पाका ८ वटा स्थानीय तहहरु मध्ये त्रिपुरासुन्दरी नगरपालिकामा माछापुक्ष्रे बैंकले यस अघि नै शाखा संचालन गरिसकेको छ । जगदुल्ला सहित डोल्पाका ३ वटा स्थानीय तहहरुमा मात्र बैंक संचालनमा आएका छन् । मुड्केचुला गाउँपालिकामा राष्ट्रिय वांणिज्य बैंकले र काइके गाउँपालिकामा नेपाल बैंक लिमिटेडले केही समय भित्र शाखा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बताइएको छ ।

    बाँकी माथिल्लो डोल्पाका ३ वटा गाउँपालिकाहरुमा भूगोल र हावापानी समस्याका कारण बैंकहरु जानका लागि निश्चित भएको छैन । तर नेपाल राष्ट्र बैंकले माथिल्लो डोल्पाका डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिकामा राष्ट्रिय वांणिज्य बैंक र शे–फोक्सुण्डो गाउँपालिकाकामा प्रभु बैंकलाई शाखा संचालनका लागि अनुमति दिइ सकेको छ । 

    प्रकाशित:भाद्र २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्