दमकमा एक व्यावसायीको हत्या

- अर्जुन राजवंशी, दमक

    भाद्र २६, २०७५

    झापा दमकका एक व्यापारीको हत्या भएको छ । दमक नगरपालिका ६ मा रेडिमेट कपडाको व्यापार गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । कमल गाउँपालिका ६ मंगलबारमा घर भएका पौडेलको शव आज बिहान गौरीगञ्ज गाउँपालिका ६ देवीगञ्जस्थित नेपाल–भारत सीमा नजिक भेटिएको थियो ।

    बिहान ७ बजेतिर गाईव बाँध्न गएकाहरुले खेतको पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको हत्यामा संलग्न रहेको आशंकामा गौरीगञ्ज ६ का कपडा व्यापारी २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    पौडेलको घाँटी, छाती, पाखुरा, पिढँ्यूमा गरी शरीरको विभिन्न भागमा गहिरो चोट रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । प्रहरी निरीक्षक पौडेलका अनुसार व्यापारी पौडेल हिजो बेलुकादेखि बेपत्ता थिए । उनी हिजो बेलुका ५ बजेतिर पसल बन्द गरेर श्रीमती दीपासंगै ग्राहकसंग पैंसा उठाउन दमकबाट गौरीगञ्ज झरेका थिए ।

    गौरीगञ्जमा आफ्नो पसलबाट सामान लगेका व्यापारी सद्दामसंग पौडेलले ९० हजार रुपैयाँ उठाउन बाँकी रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । पौडेल दम्पती र सद्दामबीच गौरीगञ्ज चौकमा भेट भएको थियो । एउटा मात्र मोटरसाइकल भएकाले श्रीमती दीपालाई गौरीगञ्ज चोकमा राख्न लगाएर सद्दामले पौडेललाई पैंसा दिन्छु घर जाऊ भन्दै लगेको अनुसन्धनबाट खुलेको प्रहरीले जनाएको छ । 

    तर, श्रीमान २ घण्टासम्म नफर्किएपछि दीपाले प्रहरीलाई खबर गरेकी थिइन । लगत्तै प्रहरीले सद्दामलाई उनको घरबाटै पक्राउ गरेको थियो । सद्दामसंगै रातभरी पौडेललाई खोजेपनि पौडेल फेला परेका थिएनन् । घटनामा संलग्न रहेको आशंकामा थप केही व्यक्तिलाई सोधपुछ गर्ने कार्य भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ । 

    प्रकाशित:भाद्र २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्