नेपाली फुटबल ऐतिहासिक उपलब्धीको संघारमा

    भाद्र २७, २०७५

    - बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको पहिलो सेमिफाईनलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा अपरान्ह पौने ४ बजे हुने प्रतिस्पर्धा, नेपालका लागि इतिहास रच्ने अवसर हो ।

    बंगलादेशी भूमिमा माल्दिभ्सविरुद्ध दोस्रो जितसँगै नेपाल उपाधि यात्रामा अघि बढ्ने लक्ष्यका साथ आज मैदान उत्रनेछ । भाग्यको साथमा सेमिफाईनल यात्रा तय गरेको माल्दिभ्स भने नेपालविरुद्ध जितका श्रृंखला जारी राख्दै उपाधि नजिक पुग्ने दाउमा रहनेछ । अलि अस्फाकको कमानीमा रहेको माल्दिभ्स ऐतिहासिक उपलब्धी हात पार्दै टोलीलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्न चाहान्छ । साफ च्याम्पियनसीपको फाईनलसम्म पुग्न नसकेको नेपाल चीर प्रतिद्धन्दी माल्दिभ्सको खस्कदो प्रर्दशनको फाईदा उठाउँदै बंगलादेशी भूमिमा अर्को ईतिहास कोर्न आतुर छ ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली फुटबल ऐतिहासिक उपलब्धीको संघारमा रहेको बताउँदै आत्मविश्वासका साथ नेपाली टोली मैदान उत्रने बताएका छन् । टोली उच्च मनोबलमा रहेको तथा युवा टोलीमा देखिएको जोश र उर्जाले टोलीलाई एक कदम अघि बढाउने महर्जनको दाबि छ ।    

    माल्दिभ्स्सँंगका यसअघिका १५ भेटमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ । ४ खेल बराबरीमा सकिदा ७ खेल भने माल्दिभ्सले जितेको छ । साफ च्याम्पियनसीपमा भएका ६ भेटमा भने २ बराबरीको नतिजामै नेपाल अड्किएको छ । बाँकि सबै खेलमा माल्दिभ्स हाबी बन्दै आएको छ । आजको बिजेताले उपाधिका लागि  आजै हुने दोस्रो सेमिफाईनलको बिजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा आजै राती पौने ७ बजे भारत र पाकिस्तान आमने सामने हुनेछन् ।  

     

     

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्