उत्तरी लमजुङको अर्खलेबेंसी–स्याँगेमा बाढीपहिरो

- आश गुरुङ, लमजुङ

    भाद्र २७, २०७५

    लमजुङको मस्र्याङदी गाउँपालिका ३, अर्खलेबेंसीसमा बुधबार दिउँसो बाढीसहित पहिरो जाँदा २ जना सम्पर्कबिहीन भएका छन् । स्थानीय बृद्धा ललितमाया गुरुङ र जगतगाउँबाट आएका एकजना वृद्धलाई पहिरोले बगाएर सम्पर्कबिहीन बनाएको स्थानीय जगत गुरुङले बताए । उनका अनुसार जगतगाउँबाट आएका बृद्धको नाम खुल्न नसकेको उनले बताए ।

    अर्खलेबेंसीमा रहेका ४ वटा घरमध्ये ३ वटा बगाएको उनले बताए । उनका अनुसार वरपरको खोला बढेर ती घरमा जान नसकिएको र आफ्नी आमा समेत खुट्टा भाँचिएर घाइते अवस्थामा रहेको उनले बताए । भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाउनुका साथै बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेको स्थानीयको भनाई छ ।

    मस्र्याङदी गाउँपालिका ४ का अध्यक्ष सुमन गुरुङका अनुसार राबजारमा २ वटा घर बाढीले बगाएको छ । एउटा ट्रयाक्टर र मोटरसाइकल समेत बगाएको उनले बताए । यस्तै, स्याँगेमा १० वटा बढी बाख्रा पहिरोले बगाएको उनले बताए । मस्र्याङदी गाउँपालिका ६, बाहुनडाँडामा ३ वटा घर पहिरोले बगाएको स्थानीयले बताएका छन् ।

    बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको अवस्थामा बाढी र पहिरोले अलपत्र परेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार ठाउँठाउँमा बाढी र पहिरोले चक्रीय पदमार्ग घुम्न गएका पर्यटक समेत बाढी र पहिरोले अलपत्र परेका छन् । दायाँबायाँ बाढी र पहिरो चलेपछि उनीहरु बीचमै रोकिएका छन् । काप्रेभीरमा एउटा जीप पहिरोले पुरेको जानकारीमा आएको घटनास्थलमा रहेका उनले बताए । उनी बेंसीसहरबाट मनाङको चामे जाँदै थिए । 

    मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मस्र्याङदीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको बताउनुभयो । ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ थकालले एक्कासी आएको बाढीले उत्तरी लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र केही मानिस हाताहात भएको खबर आएकोले प्रहरी परिचालन गरिएको बताउनुभये । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्