मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नेपाली

- लालप्रसाद शर्मा, पोखरा

    भाद्र २७, २०७५

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको राजनीतिक सल्लाहकारमा बागलुङका गोबिन्दबहादुर नेपाली नियुक्त हुनु भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य नेपालीलाई प्रदेशको राज्यमन्त्रीसरह सेवासुविधा पाउने गरी नियुक्त गरेको हो ।

    राजनीति र समाजशास्त्रमा एमए उत्तीर्ण ४३ वर्षीय नेपाली खुला विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमफिल अध्ययनरत छन् । स्कूले विद्यार्थीकालमा २०४५ मा अनेरास्ववियुमा आवद्ध भएका नेपाली प्रेस चौतारी बागलुङका संस्थापक अध्यक्ष पनि हुन् । दोस्रो जनआन्दोलनका दौरान उहाँलाई तत्कालिन शाही सरकारले राजद्रोहको मुद्धा लगाएको थियो । 

    मन्त्रिपरिषद् बैकठकले प्रदेश समन्वय परिषद्को बैठक संचालन कार्यविधिलाई स्वीकृत गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बताउनुभयो ।  मुख्यमन्त्रीको संयोजकत्वमा हुने परिषद्मा स्थानीय तहका प्रमुख र उपप्रमुख सदस्य रहनेछन ।

    यसैगरी बैठकले प्रदेश नीति तथा योजना आयोगको संगठन संरचना र दरबन्दी स्वीकृतिका लागि नेपाल सरकारसंग अनुरोधको निर्णय पनि गरेको छ । संगठन संरचना अनुसार प्रशासन शाखा, आर्थिक, अर्थ तथा वाणिज्य, भौतिक पूर्वाधार, सामाजिक विकास, सार्वजनिक नीति ता साझेदारी र तथ्यांक शाखा समेटिएको छ ।

    मुख्यमन्त्री अध्यक्ष, उपाध्यक्ष, दुई सदस्य, सदस्य सचिव, उक उपसचिव सहित २१ कर्मचारीको दरबन्दी बनाएर केन्द्रसंग मागिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । यसैगरी प्रदेशस्तरीय औषधी व्यवस्था कार्यालय स्थापनाका लागि पनि बैठकले केन्द्र सरकारसंग माग गरेको छ । साथै बैठकले अस्पताल बिकास व्यवस्थापन समिति गठन आदेश २०७५ लाई पनि पारित गरेको छ । 

    प्रकाशित:भाद्र २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्