दोषीलाई कानुनी दायरामा ल्याएरै छोड्छौं : गृहमन्त्री

काठमाडौं

    भाद्र २९, २०७५

    - गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनाको छानविन भइरहेकाले दोषीलाई कानुनी दायरमा ल्याउने बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले गृह मन्त्रालयले गठन गरेको र प्रहरीको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरीरहेकाले दोषीलाई कानुनी दायरमा ल्याउने दाबी गर्नुभएको हो । 

    मन्त्री थापाले सो घटनाको छानविन गर्न गठित समितिका सबै सदस्य र उनीहरुको परिवारलाई सरकारले आवश्यक सुरक्षा दिएकाले छानविन प्रभावित नहुने मन्त्री थापाको भनाई छ । छानविन समितिका सदस्य विरेन्द्र केसीलाई धम्की आएकाले उनले राजीनामा दिएको भएपनि गृह मन्त्रालयले समितिका सबै सदस्यको सुरक्षा सुनिश्चितता गरेपछि काममा फर्किएको उहाँले बताउनुभयो । 

    घटनाको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सनि खुना र किशोरीको परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिएको पनि गृहमन्त्री थापाले सदनलाई जानकारी गराउनुभयो । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिकाको बलत्कारपछि हत्या गरिएको अवस्थामा गत साउन ११ गते शव भेटिएपनि अझै दोषी पत्ता लाग्न सकेको छैन ।

    यस्तै, बर्दियाको गुलरियामा भदौ ७ गते उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी कार्यक्रममा कालो झण्डा देखाएपछि पक्राउ परेका राममनोहर यादवको मृत्यु प्रहरीको कुटपिटबाट नभएको बताउनुभएको छ । प्रहरी हिरासतमा रहेकै समयमा यादव बेहोस भई ढलेको र उपचारको क्रममा यही भदौ १६ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो । मृतकको पोष्ट मार्टम रिपोर्टमा कुटपिटबाट नभइ रोगका कारण मृत्यु भएको पुष्टि भएको मन्त्री थापाले सदनलाई जानकारी गराउनुभयो ।

    स्वतन्त्र मधेसको नाममा राष्ट्रिय हित प्रतिकुल काम गर्दै आएका सिके राउत समुहका यादवलाई प्रहरीले राज्य विरुद्धको कसुरमा मुद्धा दर्ता गरि अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको थियो । 

    यस्तै, बागलुङ ढोरपाटन घर भई काठमाडौंमा बस्दै आएका २२ बर्षीय संगिन जिसीको स्वयम्भुको जंगलमा शव फेला परेको विषयमा गृहमन्त्री थापाले उनको आत्महत्या भएको हुनुसक्ने आशंका व्यक्त गर्नुभयो ।

    रोल्पामा तरुण दलका नेता रोहित पुनको हत्या सम्बन्धमा एक रेष्टुरेन्टमा देवबहादुर घर्तीले चलाएको गोलीबाट घाईते भई उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । मन्त्री थापाले सो विषयबारे यसअघि आजै राष्ट्रिय सभालाई पनि जानकारी गराउनुभएको थियो । मन्त्री थापाको जवाफप्रति राजपाले भने असन्तुष्टि जनाएको छ । 

     

    प्रकाशित:भाद्र २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्