प्रतिनिधि सभाबाट ७ वटा विधेयक पारित

काठमाडौं

    भाद्र २९, २०७५

    - प्रतिनिधि सभाबाट आज मौलिक हकसँग सम्वन्धित ७ वटा विधेयक पारित भएका छन् । विषयगत समितिबाट आएको प्रतिवेदन र अनुसांगिक छलफल गरी सात वटै विधेयक सर्वसम्मतीले पारित भएको हो ।

    उपप्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक र जनस्वास्थ्य विधेयक पारित गरियोस भनि गर्नुभएको प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

    यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको रोजगारीको हक सम्वन्धी विधेयक पारित गरियोस भन्ने प्रस्ताव पनि बैठकको सर्वसम्मतीले पारित गर्‍यो । उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी विधेयक, आवासको अधिकार सम्वन्धी विधेयक र भूमि सम्वन्धी सातौं संसोधन विधेयक पनि सर्वसम्मतीले पारित भएको छ ।

    आजको बैठकमा मौलिक हकसँगै सम्वन्धित वैयक्तिक गोपनियतासम्बन्धी विधेयक र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय पहिलो संसोधन विधेयक राज्य व्यवस्था समितिले प्रतिवेदनसहित पेस गरेको छ । समितिका जेष्ठ सदस्य मिना पाण्डेले प्रतिवेदन सहित सो विधेयक पेस गर्नुभएको हो ।

    प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ । मौलिक हकसँग सम्वन्धित विधेयक दुबै सदनबाट पारित गरी आगामी असोज ३ गतेभित्रै राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने भएकाले संसदको बैठक शनिबार पनि बोलाइएको हो । संविधान जारी भएको ३ वर्षभित्र मौलिक हकसँग सम्वन्धित कानून बनाइसक्नु पर्ने प्रावधान संविधानमा नै उल्लेख छ ।  

     

    प्रकाशित:भाद्र २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्