पशुपति क्षेत्रका संरचना पुनर्निर्माणमा प्राधिकरणले सहयोग गर्ने

- रेडियो कान्तिपुर, काठमाडौं
    हाल पशुपति क्षेत्र विकास कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्धकालिन विकास योजना नहुँदा योजनाबद्ध ढंगले पशुपतिनाथ मन्दिर क्षेत्रको मन्दिरहरुको संरक्षण र विकास कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन सकिएको छैन ।

    आश्विन ३, २०७५

    भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो ।

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल सहितको टोलीसँग छलफल गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीहरुको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने बताउनुभयो ।

    पशुपति क्षेत्र विकास कोष अन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुननिर्माण गर्नुपर्ने संरचना र प्रवलीकरण गर्नु पर्ने संरचनाहरुको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताउनुभयो ।

    उहाँले धार्मिक र पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । पुनर्निर्माण  गर्दा  पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरुको संरक्षण कार्यलाई एकासाथ अगाडि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदाय लगायतबीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाई छ ।

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भएपनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गर्नु भएको थियो ।

    सदस्य सचिव डा. ढकालले भन्नुभयो, ‘पुनर्निर्माणका लागि विनियोजन भएको बजेट समेत खर्च गर्न सकिएको छैन । पुनर्निर्माणका बाँकी काम गर्न समेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ ।’ गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको थियो । 

    पशुपति क्षेत्र  विकास कोषका अनुसार शेलेष्मान्तक वनसँग जोडिएको पन्ध्र शिवालयका मन्दिर क्षेत्र जमीन भासिएकाले सो क्षेत्रमा भूसंरक्षण गर्नुपर्ने र मन्दिरहरुको जीर्णद्वार र संरक्षण गर्न आवश्यक छ । यस्तै सत्तल बनेपनि विश्वरुपा मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन ।

    जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदाहरु, गौरीघाट क्षेत्रमा रहेका बज्रघर र पञ्चदेवल, गुहेश्वरी मन्दिर क्षेत्रमा भूकम्पबाट क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण अघि बढ्न सकेको छैन । ‘पुनर्निर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफै बनाउने निर्णय गरेका छौं, सदस्य सचिव डा. ढकालले भन्नुभयो, ‘पुनर्निर्माणका कामलाई अघि बढाउन पनि त्यसको विकल्प देखिएन ।' 

    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका साथसाथै हिन्दू धर्मको दर्शनिक पक्ष र पशुपतिनाथको पौराणीकतालाई ध्यानमा राखेर गुरुयोजना बनाउन सुझाव दिनु भएको छ । ‘गुरुयोजना तयार पार्दा पवित्र धार्मिक क्षेत्र र दर्शनार्थीहरुको सेवा र सुविधा क्षेत्र गरी सामग्र क्षेत्रलाई दुई भागमा राखी गुरुयोजना बनाउनु उपयुक्त हुनेछ’, उहाँले भन्नुभयो ।  

    पशुपति क्षेत्र विकास कोषका अनुसार २०४६ सालमा बनेको गुरुयोजना कार्यान्वयन हुन सकेन भने २०५६ सालको योजना पनि अपेक्षा गरे अनुसार अघि बढन सकेको छैन् । हाल पशुपति क्षेत्र विकास कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्धकालिन विकास योजना नहुादा योजनाबद्ध ढंगले पशुपतिनाथ मन्दिर क्षेत्रको मन्दिरहरुको संरक्षण र विकास कामलाई योजनाबद्ध ढंगले अगाडि बढाउन सकिएको छैन ।

    सदस्य सचिव डा.ढकालले गुरु योजना बनाउने प्रक्रिया सुरु गरेको भन्दै सबै पक्षको सहयोग र सुझावमा अन्तिम रुप दिने बताउनुभयो । उहाँले नेपाल सरकार अन्तर्गतका नापी विभाग, वातवारण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतसागको सहकार्यमा गुरुयोजना बनाउने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

    प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गौशालादेखि जयबागेश्वरी, जयबागेश्वरीदेखि गुहेश्वरी, गुहेश्वरीदेखि एयरपोर्ट र एयरपोर्टदेखि गौशालाको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन सुझाव दिनु भएको छ । 

    छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, सम्पदाविद् सुर्यभक्त सांगाछे, पुरातत्व अधिकृत भिष्म बास्कोटा लगायत सहभागी हुनुहुन्थ्यो । यस्तै पशुपति क्षेत्र विकास कोषका सञ्चालक समिति सदस्य रमेशराज शिवाकोटी, घनश्याम उपाध्याय कोइराला लगायत उपस्थित हुनुहुन्थ्यो । 

    प्रकाशित:आश्विन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्