अग्रिम टिकट खुलेको सरकारको दाबीमाथि व्यवसायीको खण्डन

- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं
  • व्यवसायीका मागलाई सरकारले वास्तै नगरेको आरोप

आश्विन ६, २०७५

- दशैंका  लागि अग्रिम टिकट खुलाउने सम्वन्धमा सरकार र यातायात व्यवसायीबीच जुहारी चलेको छ । यातायात व्यवस्था विभागले दसैँको लागि अग्रिम टिकट बुकिङ सुरु भइसकेको दावी गरिरहँदा व्यवसायीले भने त्यसको खण्डन गरेका छन् । व्यवसायीले  आफ्ना मुद्दा सम्बोधन नगरी जनताको आँखामा छारो हाल्ने काम सरकारले गरेको आरोप लगाएका छन् ।

यातायात व्यवस्था विभागले दसैँको लागि अग्रिम टिकट बुकिङ सुरु भइसकेको दावी गरेको छ । गोगंबु बसपार्कमा प्रालि र समितिका २४ वटा काउण्टर मध्येका प्रालि सम्बद्ध व्यवसायीले टिकट बुकिङ सुरु गरेको विभागका विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यातायात व्यवसायीले टिकट बुकिङ नखोले पनि दसैँका लागि लामो दुरीका सवारीको लागि टिकट खुलिसकेको उहाँले बताउनुभयो ।

टिकट बुकिङ खोलेको पहिलो दिन हिजो काठमाडौंको नयाँ बसपार्कबाट १८ सय ९५ वटा टिकट बुकिङ भएको प्रवक्ता उपाध्यायले बताउनुभयो । प्रवक्ता उपाध्यायले समितिका व्यवसायीले पनि छिट्टै टिकट बुकिङ खोल्ने र त्यसका लागि  विभिन्न चरणमा वार्ता भइरहेको जानकारी दिनुभयो ।

विभागले व्यवसायीका माग सम्बोधन गर्न सरकारले आन्तरिक तयारी गरिरहेको बताइरहँदा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने सरकारले व्यवसायीलाई वास्तै नगरेको र आश्वासनमा मात्रै झुलाएको दावी गर्नुहुन्छ । महासंघका महासचिव सरोज सिटौलाले सरकारले व्यवसायीका मागलाई हलुका रुपमा लिएको र  व्यवसायीका समस्यालाई वेवास्ता गरेको बताउनुहुन्छ । पछिल्लो  समय उत्पन्न सम्पूर्ण तनावको निकास सरकारले नै दिनुपर्ने उहाँको भनाइ छ । 

सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । अहिले प्रालि सम्बद्ध ११ सय ९ व्यवसायीका ४ हजारको हाराहारीमा गाडी रहेका उपाध्यायले जानकारी दिनुभयो ।  समिति भने २ सय ४५ छन् । यसअघि  भदौ ३१ गते लामो दूरीका सवारी साधनको अग्रिम टिकट खुलाउन सहमत भएको महासंघ असोज १ गते पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएपछि सरकारसँगको सहमति तोड्दै टिकट नखुलाएको हो । सरकार र व्यवसायीबीचको अन्योलका कारण टिकट बुकिङ भने अन्योलमा परेको छ । 

 

प्रकाशित:आश्विन ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्