रसुवागढी नाकाबाट भित्रिन थाले दशैंका सामान

- बलराम घिमिरे, रसुवा

    आश्विन ६, २०७५

    रसुवागढी नाकाबाट दशैंमा बिक्री हुने रेडिमेटका सामानहरु भित्रिन थालेका छन् । विषेश गरी भाद्र र असोज महिनामा दशैंका लागि रसुवागढी नाकाबाट चिनियाँ तयारी पोसाक आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । तयारी पोसाकमा सर्ट, पाइन्ट, टी सर्ट, ब्रा, पेन्टि लेगेज, आउटर, ज्याकेट, कोट जुता चप्पल आउने गरेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी धर्मराज सुवेदीले बताउनुभयो ।

    राजधानी लगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ । दशैंमा चिनियाँं तयारी पोसाकको बढी माग हुने गरेको छ । दशैंका लागि चिनियाँ तयारी पोसाक रसुवागढी नाकाबाट भित्रने गरेको छ । तयारी पोसाक, खुद्रा सामान र इलेक्ट्रोनिक सामान लोड भएका करीब ४ सय मालबाहक कन्टेनर जँंचपासको लागि भन्सार र्‍यार्ड रहेको सुवेदीले बताउनुभयो ।

    दशैंका लागि रेडिमेट सामानहरु धेरै आएका छन्, उहाँले भन्नुभयो, ‘सामान आउने क्रम जारी रहेको छ ।’ सामान लोड भएका सयौं कन्टेनर राजधानी प्रवेश गरिसकेको व्यापारीहरुले बताएका छन् । सीमा नजिकै गएको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्‍याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका– ५ खोपाङ भीर र धुन्चे तर्फ गएको पहिरोले सडक अवरुद्ध हुँदा करीब एक महिना रसुवागढी ठप्प भएको थियो ।

    अहिले नाकामा कुनै अवरोध छैन् । सडक मर्मत भएपछि यतातायात सञ्चालनमा सहज भएको छ । चीनको केरुङमा रोकिएका सामानहरु नेपाल भित्रि सकेका छन् । एक महिना यातातयात बन्द हुँदा रसुवा भन्सार कार्यालयले साउन र भदौ महिनामा तोकेको राजस्व लक्ष्य पूरा गर्न नसकेको कार्यालयले बताएको छ ।

    साउन महिनामा ५० करोड ९ लाख ३८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकामा २६ करोड ६ लाख ७ हजार मात्र संकलन गरेको छ । भदौ महिनामा ९२ करोड २५ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा २९ करोड १६ लाख मात्र राजस्व उठाएको छ । लामो समय सम्म यातायात अवरुद्ध हुँदा रसुवा भन्सारको कारोबार ठप्प भएको हो ।

    अहिले नाकाबाट सहज तरिकाले सामान आयात भइरहेको छ । सामान आउन थालेपछि असोज महिनाबाट राजस्व संकलनमा प्रगति हुँंदै गएको छ । अहिले दैनिक ७ करोड भन्दा माथि राजस्व संकलन भइरहेको छ ।

    कार्यालयले असोज ४ गते मात्रै १२ करोड रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी धर्मराज सुवेदीले बताउनुभयो । भन्सार विभागले आर्थिक वर्ष ०७५/०७६ का लागि रसुवा भन्सार कार्यालयलाई ७ अरब १५ करोड राजस्व संकलन गर्ने लक्ष्य तोकेको उहाँले जानकारी दिनुभयो । रसुवागढी नाकाबाट वर्षेनी सामान आयात हुने क्रम बढ्दै गएको छ ।

    चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । नाकामा भन्सार कार्यालयको स्थापना २०१३ सालमा भएको हो । उत्तरी चीन जोड्ने रसुवागढी–केरुङ नाका ०७१ मंसिर १५ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आएको हो ।

    ०७२ वैशाख १२ गतेको भूकम्पले केही महिना रसुवागढीनाका बन्द हुन पुग्यो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुंँदै आएको छ । नाकालाई ०७४ भदौ १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ ।

    रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्ने गरेका छन् । राजधानीबाट रसुवागढी पुग्ने जीर्ण सडक माथिबाट पहिरो झर्दा दिनै पिच्छे बन्द हुने र खुल्ने निश्चित हुंँदैन । भूकम्पका कारण तिन वर्षअघि तातोपानी नाका बन्द भए पछि तीब्र रूपमा व्यापारिक कारोबार सञ्चालन हुन थालेको यो नाका अस्तव्यस्त छ ।

    नाका सम्म पुग्ने सडकको अबस्था नाजुक र जीर्ण रहेको व्यापारीहरुले बताएका छन् । सडकमा खाल्ट खुल्टी धेरै छ पहिरोको जोखिम पनि उतिकै छ व्यावसायी अमृत कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कति खेर कहाँ पहिरो जान्छ थाहा हुँंदैन, जोखिम मोलेर व्यावसाय गर्नु परेको छ ।’

    सडक सुधार गर्न सरकारबाट कुनै पहल नभएको व्यावसायीहरुले गुनासो गर्ने गरेका छन् । सडक राम्रो हुने हो भने रसुवागढी नाकाबाट अहिलेको भन्दा दुई गुना बढी सामान ल्यउन सकिने व्यापारीहरु बताउंछन् ।

    जिल्ला बाहिरका व्यापारी तथा गाडी चालकलाई वान डे पास नहुँदा व्यापार गर्न झनै समस्या रहेको व्यापारीहरूले बताए । केरुङमा सामग्री हराउने, सवारी साधन बिग्रंदा बनाउन जान नपाउने तथा व्यापारमा सुरक्षा नभएको व्यापारीहरूको गुनासो छ ।

    भन्सारमा प्रयाप्त कन्टेनर पार्किङ गर्ने यार्ड छैन । भएको यार्डको क्षमता पनि निकै कमी रहेको छ । एकैचोटी धेरै कन्टेनर आउँदा भन्सारका कर्मचारीहरूले सडकमा नै उभिएर चेकजाँच गर्नुपर्ने अवस्था रहेको छ ।

    भन्सार यार्ड व्यवस्थित नहुँदा सामान चोरी हुने र खुला ठाउँमा भएकाले पानी पर्दा समस्या रहेको व्यापारी धर्म पौडेलले बताउनुभयो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामान लगायतका मुख्य वस्तुहरु पैठारी भइरहेको छ ।

    नेपालबाट चीन तर्फ धातुको मूर्ति, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रीम लगायतका मुख्य वस्तुहरु निकासी भइरहेको छ । 

    प्रकाशित:आश्विन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्