आयोजनाको सिमेन्ट अन्यत्रै बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन ६, २०७५

    मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यमा ल्याइएको सिमेन्ट निजी पसलमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानी मन्त्री विना मगरका स्वकीय अधिकृत विजयदेव भट्टराईले विज्ञप्ति जारी गर्दै अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याइएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री गर्न राखिएको प्रति मन्त्रालय गम्भीर रहेको जनाएको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरबाही प्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी ‘सीएमसी’ थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ ।’ 

    निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि रहेको जनाउँदै मन्त्रालयले सो कार्यमा संलग्नहरुलाई कानून बमोजिम कारबाही गर्न, यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

     

    प्रकाशित:आश्विन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्