कमिसनका लागि भारतमा बिरामी रिफर गर्नेलाई कारबाही गर्न दूतावासको आग्रह

- सुरेशराज न्यौपाने, नयाँ दिल्ली

    आश्विन १३, २०७५

    नेपाली बिरामीलाई कमिसनका लागि भारतीय अस्पतालमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टलाई कारबाही गर्न भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ । कमिसनकै लागि भारतीय अस्पतालमा बिरामी पठाउने व्यक्ति तथा संस्थाको पहिचानका लागि गृह मन्त्रालय, स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता संरक्षण विभागको समन्वयमा तत्काल अनुसन्धान गर्न दूतावासले आग्रह गरेको हो ।

    कमिसनकै लागि बिरामीलाई अनावश्यक रूपमा भारतका क्लिनिक, नर्सिङ होम र अस्पतालमा ‘रिफर’ गर्ने गरिएको दूतावासको ठहर छ । भारतस्थित स्वास्थ्य संस्था वा डाक्टरका एजेन्ट र तिनका कार्यालय भए तत्काल खारेज गर्न पनि दूतावासले सरकारलाई आग्रह गरेको छ ।

    उपचारका लागि भारत आउने नेपाली बिरामीमाथि डाक्टर तथा स्वास्थ्य संस्थाहरूले चर्को आर्थिक शोषण गर्ने गरेको गुनासो बढदै गएपछि दूतावासले यस्तो कदम चालेको कार्यबाहक राजदूत भरतकुमार रेग्मीले बताउनुभयो ।

    नेपाली बिरामी भारत पठाएबापत स्वास्थ्य संस्थाले १० देखि ३५ प्रतिशतसम्म थप रकम लिने र सो कमिसन विभिन्न अनधिकृत च्यानल मार्फत नेपाल पठाइने गरिएको छ । विभिन्न अस्पतालका नेतृत्वलाई भेटेर कमिसनको चलखेल र नेपाली बिरामीमाथि हुने अनावश्यक आर्थिक शोषण तत्काल बन्द गर्न सचेत गराएको दूतावासले जनाएको छ ।

    दूतावासले नेपाली बिरामीसँग भारतीय बराबर नै शुल्क लिनुपर्ने आग्रह गरेको पनि कार्यबाहक राजदूत रेग्मीले जानकारी दिनुभयो । दूतावासले उपचारका लागि भारत आउने नेपाली नागरिकले पहिले उपचार गर्न जाने अस्पताल, उपचार पद्धति, डाक्टर, उपचारमा लाग्ने समय, खर्च लगायतबारे आधिकारिक स्रोतबाट बुझेर मात्र आउन पनि आग्रह गरेको छ ।

    मृगौला, कलेजो र बोनम्यारो जस्ता अंग प्रत्यारोपणका लागि आउने बिरामीले परराष्ट्र मन्त्रालयबाट आवश्यक कागजात र सिफारिस लिएरमात्र आउन पनि दूतावासले सचेत गराएको छ ।

    प्रकाशित:आश्विन १३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्