पर्याप्त मात्रामा इन्धन वितरण भइरहेको छ : निगम

- रेडियो कान्तिपुर, काठमाडौं

    आश्विन २९, २०७५

    नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोल पम्पले माग गरे बमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ ।

    डिपो प्रमुख इञ्जिनियर भरत रेग्मीले उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिनुभयो । डिपोले आइतबार पनि पर्याप्त मात्रामा बजारमा इन्धन पठाएको थियो ।

    आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उहाँले बताउनुभयो । पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उहाँले उपत्यकाबाट बाहिरिने सवारी साधनले पूर्ण क्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुन सक्ने बताउनुभयो ।

    निगमको थानकोट डिपोले आपत्कालीन अवस्थाका लागि भन्दै १० कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । पम्पले जनुसुकै बेला इन्धन माग गरे सार्वजनिक बिदा नभनी उपलब्ध गराइने डिपो प्रमुख रेग्मीले बताउनुभयो ।

    डिपोका तीन जना शाखा अधिकृत र केही प्राविधिक सहित १० कर्मचारीलाई तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । इन्धनको अभाव हुन नदिन पम्पले माग गर्ने बित्तिकै ट्याङ्करमा लोड गरेर पठगाउने गरी व्यवस्था मिलाइएको भन्दै उहाँले मंगलबारसम्म थानकोटस्थित डिपो नियमित रुपमा खुल्ने बताउनुभयो । 

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्