चाडले छोएन सुकुम्बासी बस्तीलाई

- देवनारायण साह, मोरङ

    आश्विन २९, २०७५

    मुलुकको पहिलो औद्योगिक नगरी विराटनगर हो । यहाँका उद्योगी व्यवसायीहरुले नजिकका आर्थिक हैसियत कमजोर भएका साथी तथा पेसा व्यवसायमा बेला बखत काम लाग्ने व्यक्तिहरुलाई बोलाएर दशैं खर्च बाँडिरहेका छन् । विराटनगरमा दशैंको रौनक छाएको छ ।

    विराटनगरका कपडा, किराना, माशु तथा विलासिताको सामान बेच्ने पसलमा किनमेल गर्नेको भीड देखिन्छ तर यहाँका सुकुम्बासी बस्तीलाइ चाँडले छोएको छैन । विराटनगर १२ बखरीस्थित सुकुम्बासी बस्तीकी रीना ऋषिदेवले साग टिपिदिए बापत ज्यालामा पाएको तोरीको साग छिमेकीको सहयोगमा सोमबार केलाउँदै थिइन् ।

    उनको काँखमा दूध चुसाउँदै गरेको छोराको जीउभर लुगा थिएन । दशैंको रौनक गाउँमा बढदै गएकोले आफूहरु पनि रमाइरहेको उनले बताइन् । ‘ज्यालामा पाएको साग र भात खाएरै दशैंको रमाइलो अनुभूति गरिरहेका छौं,’ उनले भनिन्, ‘हुँदा भान्छामा मिठो मसिनो पनि पकाउँछु नभएको बेला नुनखोर्सानीसँगै भात खाएर अघाउँछु ।’ 

    २४ वर्षीया रीनालाई अहिलेसम्म दशैंमा नयाँ लुगा लगाएको सम्झना छैन । उनले दैनिक ज्यालादारीमा कृषि मजदुरको काम गरेर जीवन गुजारा गर्दै आएको बताइन् । ‘ज्याला पाएको दिन मासु नै किनेर खान्छु,’ उनले भनिन्, ‘ज्याला पाएकै दिन सकिने संस्कारमा हुर्केकोले होला चाँडपर्वको लागि सञ्चित गरेर राख्न जानिएन ।’

    रीनाको पति सुरेन्द्र ऋषिदेव घर निर्माणमा दैनिक ज्यालादारीमा काम गरिरहेको छ । सुरेन्द्रले दिनभर काम गरेपछि बेलुका ५ सय ज्याला पाउने गरेको तर ज्याला पाउने बित्तिकै होटलमा रक्सी मासु खाएर सक्ने गरेको रीनाले सुनाइन् ।

    सुरेन्द्रले परिवारभन्दा आफ्नै मोजमस्तीमा ज्याला सक्ने गरेकोले आफ्नो यस्तो अवस्था रहेको उनले दुखेसो पोखिन् । उनको दुई छोरा र दुई छोरी छन् । 

    यस्तै, अमिता ऋषिदेवले पनि दशैं मनाउन कुनै तयारी नगरेको बताइन् । रोजगारीका लागि पञ्जाब गएका पति शिबकुमार ऋषिदेवले पैसा नपठाइदिएकोले यसपालिको दशैं खल्लो भएको उनले बताइन् ।

    ‘दशैंमा नयाँ लुगा लगाउने र मिठो मसिनो खाने मन छ तर मन भएर मात्रै पुग्दैन,’ उनले भनिन्, ‘नयाँ लुगा र मिठो मसिनो खानलाई पैसा चाहिन्छ र पैसा नभएपछि के नै हुन्छ त्यसैले यसपालि जे छ त्यही लिएर दशैं मनाउँछौं ।’

    ३ छोरा र १ छोरीकी आमा अमिताले छोराछोरीको पूरानै लुगा सफा गरेर दशैंमा लगाउन दिने बताइन् । वर्ष दिनको पर्व भएकोले ऋण सापट गरेर भए पनि छोराछोरीलाई खसीको नभए कुखुराको मासु किनेर एक दिन खुवाउने अमिताले बताइन् ।

    ‘यो औद्योगिक नगरीमा हामी रोजगारीको अभावले नै यस्तो जीवन गुजार्न बाध्य छौं,’ उनले भनिन्, ‘यहाँ रोजगारीको व्यवस्था भइदिए पतिपत्नी मिलेर मजदुरी गरी सुखीपूर्वक जीवन गुजारा गर्द थियो तर के गर्नु छैन ।’ उनले आफूहरुलाई हेरिदिने कोही नभएकोले यस्तो अवस्था रहेको दुखेसो पोखिन् ।

    उनीहरु जस्तै बखरीका २ सय ५० परिवार सुकुम्बासी ऋषिदेवको अवस्था छ । उनीहरुलाई दशैं पर्वले छोएको छैन । गरिबीका कारण उनीहरुले नयाँ लुगा लगाउनुका साथै मिठो मसिनो खाएर उल्लासपूर्वक पर्व मनाउन पाएका छैनन् । 

    स्थानीय ६० वर्षीय भगलु ऋषिदेवले आफूहरु गरिवको सधैं दशैं र चाडपर्व नै हुने गरेको बताए । ‘दिनभरको मजदुरी गरेर ल्याएको ज्यालाले बेलुका माशु र रक्सी खाने गरेका छौं,’ उनले भने, ‘मजदुरी नभएको दिन नुन खोर्सानीसँग पेटभरी भात खान्छौं ।’ उनले भोकै वस्नु पर्ने अवस्था नआउनु नै आफूहरु सुकुम्बासी ऋषिदेवको शौभाग्य भएको बताए । 

    ‘दशैं पर्व वर्षमा एक पटक आउने भएकोले खर्च नहुनेले गिरहतको बारीको साग खाएर पनि खुशी पूर्वक मनाउँछन्,’ उनले भने, ‘कतिपयले आ–आफ्ना किसानहरुसँग ५/१० दिनको ज्याला बापतको पैसा सापट ल्याएर छोराछोरीलाई नयाँ लुगा मासु भात खुवाएर उल्लासपूर्वक दशैं मनाउने गरेका छन् ।’ सापटमा लिएको ज्याला वापत पछि किसानको खेतमा काम गरिदिने चलन रहेको उनले बताए । 

    प्रकाशित:आश्विन २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्