आपराधिक गतिविधि नियन्त्रण गर्ने विशेष सुरक्षा व्यवस्था

- प्रिन्स गौतम, काठमाडौं

    कार्तिक २१, २०७५

    तिहारको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था अपनाइसकेको जनाएको छ । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, पटाका पड्काउने र मादक पर्दाथ सेवन गरेर हो–हल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसार सम्मको मुद्दा चलाउने तयारी प्रहरीको छ ।

    यस्ता गतिविधिमा संलग्नलाई तत्काल कारबाही गर्न सादा पोशाकका प्रहरी परिचालन गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।

    उहाँले भन्नुभयो ‘तिहारलाई सुरक्षित बनाउने गरि हामी लागेका छौँ । कसैले पनि पटाका लगायतका प्रज्ज्वलनशील पदार्थ पड्काए तत्काल समातेर कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको छ ।’ 

    भारतीय सीमा क्षेत्र तथा उपत्यका भित्रिने विभिन्न नाकामा पटाका लगायतका पदार्थको चेकिङमा समेत कडाई गरेको दाबी प्रहरीको छ । अहिलेसम्म प्रहरीले मुलुकभरबाट लाखौं मूल्य बराबरको पटाका बरामद गरिसकेको छ ।

    यस्तै सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रहरी र स्थानीय प्रशासनले ७७ वटै जिल्लामा देउसी भैलो खेल्ले समय निर्धारण गरेका छन् ।

    प्रवक्ता सुवेदीले भन्नुभयो ‘सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा देउसी भैलो नखेल्न अनुरोध गरेका हौं । जुवातास खेल्ने समूहको पनि प्रहरीले निगरानी बढाएको छ ।’

    प्रकाशित:कार्तिक २१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्