धरानमा चार करोडको फूल बिक्री

- प्रदीप मेन्याङ्बो, सुनसरी
  • भारतीय फूलको आयात ६० प्रतिशतले घट्यो

कार्तिक २१, २०७५

सुनसरीमा आज एकै दिन चार करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । तिहारका लागि स्थानीय बारीमा उत्पादित सयपत्री र मखमली फूलले भारतीय फूलको आयातलाई ६० प्रतिशत विस्थापित गर्दै बुधबार एकै दिनमा करीब ४ करोड रुपैयाँको कारोबार भएको हो । 

फ्लोरिकल्चर एसोसिएसन सुनसरी सदस्य प्रेम पराजुलीका अनुसार धरानको कृषि उपज बजारमा धनकुटा र सुनसरीका विभिन्न क्षेत्रमा उत्पादित फूलको कारोबार ४ करोड रुपैयाँ बढीको भएको हो ।

गत वर्षहरुमा तिहारको बेला भारतीय फूलले घर सजाउने र चेलीले माइतीलाई लगाइदिने गरेका थिए । स्थानीय कृषकहरुले बढी मात्रामा फूलको उत्पादन गरेकाले यो वर्षको तिहार स्थानीय फूलले सजिन थालेका छन् । 

सुनसरीको धरान आसपासका क्षेत्रहरु विजयपुर, पानबारी, विष्णुपादुकाबाट मात्र कम्तिमा ३० लाख रुपैयाँ बढीको फूलको उत्पादन भएको पराजुलीले बताउनुभयो । विजयपुर क्षेत्रमा करीब अढाई बिघा भन्दा बढी क्षेत्रमा सयपत्री, मखमली फूल फुलाईएको थियो ।

उहाँले भन्नुभयो, ‘आयातित भारतीय फूलको दबदबा यो वर्षको तिहारमा ६० प्रतिशत विस्थापित भएको छ । यसरी नै स्थानीय किसानले फूलको खेती गर्न थालेमा केही वर्षमा भारतीय फूल पूर्णरुपमा विस्थापित हुने छ ।’  

विगतका तिहारमा पूर्वमा आकर्षक बनाइएको भारतीय फूलमै निर्भर हुने गरेको थियो । यसपाली स्थानीय फूल व्याबसायी कृषकहरुले व्यापक रुपमा खेती गरेकाले तिहारमा ताजा फूल प्रयोग गर्न पाएका छन् । 

गत वर्षको तुलनामा पूर्वमा फूल धेरै उत्पादन भएको छ ।

पूर्वका पहाडी क्षेत्र र तराईमा पनि अरु वर्षको तुलनामा मनग्ये फूल फुलेकाले गत वर्षको तुलनामा भारतको कोलकत्ताबाट ल्याइने फूलको खपत घटेको छ । व्यावसायिक रुपमा तयार गरेर चिस्यानमा राखिने भएकाले भारतीय फूल आकर्षक देखिने गरेकाले उपभोक्ताहरु लोभिने गरेका थिए ।

कतिपयले भारतीय फूलमा फर्मालिन प्रयोग गरिने भएकाले लामो समय नओइलिने गरेको बताउने गरेका छन् । फर्मालिनलाई कुनै पनि पदार्थ सडिन वा कुहिनबाट जोगाउनका लागि प्रयोग गरिने रासायनिक पदार्थ हो ।

फ्लोरिकल्च एशोसिएशनका सुनसरी सदस्य प्रेम पराजुलीले भारतीय फूल आयात गर्न सरकारले रोक नलगाए पनि यसपटकको तिहारमा स्थानीय फूलको बजार सन्तोषजनक देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरुले फूलबाट बढी नै आम्दानी गरे ।

फूलको उपभोग वर्षेनी बढेकाले स्थानीय किसानहरुले फूलको खेती पनि बढी नै गर्न थालेकाले भारतीय फूलको दबदबा घट्दै गएको छ ।’

विजयपुृरका फूल उत्पादक दुर्गा लिम्बुले भारतीय फूल भन्दा स्थानीय फूल बढी बिक्री भएको बताए । उनले भने, ‘तिहार अलि ढिलो भएकोले पनि कृषकहरुले रोपेका प्राय फूल सबै फुलेका छन् । मौसमले राम्रो साथ दिएकोले पनि कृषकले राम्रो दाम फूलबाट पाएका छन् ।’ 

प्रकाशित:कार्तिक २१, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्