दीपावलीमा अँध्यारो हुन नदिने प्राधिकरणको दाबी

- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं

    कार्तिक २१, २०७५

    विद्युत प्राधिकरणले लक्ष्मीपूजा लक्षित विद्युतीय भार व्यवस्थापन गरेको छ । विशेषत: आज विद्युतीय भार बढ्ने भएकाले सोही अनुसार कुनैपनि समय विद्युत नकाटिने गरी व्यवस्थापन गरिएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

    देशभर कहीँ कतै विद्युतीय प्रशारणमा समस्या नहोस् भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्च अधिकारीको टोली अहिले काठमाडौंका विभिन्न वितरण केन्द्र र सबस्टेसनहरुको निरीक्षणमा खटेको छ ।

    यसपटक  १ हजार २ सय ७५ मेगावाट विजुलीको माग हुने अनुमान  प्रक्षेपण गरिएको छ । यद्यपी प्राधिकरणले आफूसँग १३ सय ५० मेगावाटसम्म पनि विद्युतको माग धान्न सकिने गरी व्यवस्थापन गरेको जनाएको छ । गतवर्षको तिहारमा मुलुकभर  ११ सय ६५  मेगावाट विद्युत भार रहेको थियो ।

    यस्तै थप विद्युत आवश्यक परे  नेपाल–भारतको ढल्केबर मुज्जफरपूर अन्तर्राष्ट्रिय प्रशारण लाइन एवं अन्य राष्ट्रिय प्रसारण लाइनमा समेत मौज्दात विद्युत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । अत्याधिक मागका समय कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आइहालेपनि तत्काल समाधानका लागि प्राविधिकसहितको टोली तयार अवस्थामा राखिएको अधिकारीले बताउनुभयो ।

    विद्युत प्रशारणमा कुनैपनि समस्या नआओस् भनेर  प्राधिकरणले सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत यसअघि नै सकाइसकेको अधिकारीले जानकारी दिनुभयो ।

    विशेषत: आज काठमाडौं उपत्यकासँगै काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट र रसुवामा अत्याधिक माग रहने भएकाले सोही अनुसार व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

    काठमाडौंमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ र काभ्रेको बनेपा, तथा पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिएको छ ।

    प्रकाशित:कार्तिक २१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्